धानखोला–लमही सडक खण्ड स्तरोन्नति कार्य शुभारम्भ
काठमाडौँ । एमसिए–नेपालले बुधबार पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ।
सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक गुणस्तर, टिकाउपना र दिगोपनाको दृष्टिकोणबाट निकै लाभदायी अत्याधुनिक निर्माण प्रविधि फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ आस्फाल्ट प्रयोग गरिँदैछ ।
यस आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर यस सडकलाई १२ मिटर चौडा पनि बनाउनेछ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सडक खण्ड स्तरोन्नति शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सडकको राम्रो गुणस्तर र टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभ जस्ता अत्याधुनिक प्रविधि प्रयोगको सराहना गरे।
‘यो राजमार्गमा हरेक दिन निर्भर रहेको हाम्रो प्रदेश र यहाँका जनताका लागि यो एउटा महत्त्वपूर्ण अग्रगामी कदम हो । यो सडक खण्डको स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूका लागि नयाँ अवसरहरू पनि सिर्जना गर्नेछ’, मुख्यमन्त्री आचार्यले उल्लेख गरे ।
यसैगरी नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले भने, ‘आजको यस धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्यको शुभारम्भ संयुक्त राज्य अमेरिका तथा नेपालबिचको साझेदारीका सन्दर्भमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा हो । एमसीसी नेपाल कम्प्याक्टमार्फत हामी ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायहरूलाई बजार र अवसरहरूसँग जोड्ने उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानी गर्दै छौँ ।’
उनले आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि हाम्रो संयुक्त निष्ठालाई प्रतिबिम्बित गर्ने बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसिए–नेपालको लगानी नेपाल सरकारका योजना तथा कार्यक्रमका पूरकका रूपमा तयार गरिएको बताए।



