ललितपुरमा अटिजम सम्बन्धी ३ दिने विशेष शिक्षा तालिम सम्पन्न
ललितपुर। ललितपुर, पुल्चोकमा नेपाल एकेडेमी अफ साइकोलोजीले आयोजना गरेको अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित ३ दिने “विशेष शिक्षा तालिम र सेमिनार” कार्यक्रम आइतबार सम्पन्न भएको छ।
शुक्रबारदेखि सुरु भएको उक्त कार्यक्रमको समापन सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। समापन कार्यक्रममा समाजसेवी तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझी, प्रा.डा प्रेम खत्री, सह प्रा. डा.अस्वस्थामा भक्त खरेल, प्रा. कृष्ण आचार्य, डा. राजेन्द्र खत्री, डा. बिनिता सिंह, अटिजम स्पेसलिस्ट तथा मनोविद भगवती भट्टराई, बैंकर हरि आचार्य, वरिष्ठ पत्रकार पूर्ण प्रसाद मिश्र, मुना श्रेष्ठ, मनोज भण्डारी लगायतका महानुभावहरूले आतिथ्य ग्रहण गर्नुभएको थियो।
कार्यक्रमका मुख्य ट्रेनर भारत, मुम्बईबाट आउनुभएका विपिन मौर्य (विशेष शिक्षक तथा संस्थापक, स्कोप अफ होप फाउन्डेशन) रहनुभएको थियो। कार्यक्रमका अर्का ट्रेनर उमङ्ग जङ्ग पराक्रम शाह, नेपाल एकेडेमी अफ साइकोलोजी का निर्देशक तथा साइकोलोजी, समावेशी/विशेष शिक्षा र राजनीतिक विज्ञान लगायतका बहुविषयगत अनुसन्धानकर्ता रहनुभएको थियो भने उहाँले नै कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
सहभागीहरूबीच अटिजम सहितका व्यक्तिहरूको सहायताका लागि आवश्यक प्राविधिक तथा कानुन नीति नियम आदिका विषयहरूमा अन्तरक्रियात्मक छलफल सत्र समेत सञ्चालन गरिएको थियो ।
यसले अनुभव आदानप्रदान तथा व्यावहारिक बुझाइलाई थप सुदृढ बनाएको आयोजक तथा सहभागीहरूले जनाएका छन्।
कार्यक्रमकै सिलसिलामा अभिभावक तथा सरोकारवालाहरूको तर्फबाट सरकारका लागि, विशेष आवश्यकता भएका बालबालिका तथा सबै उमेर समूहका व्यक्तिहरूको शिक्षा स्वास्थ्य तथा अन्य आवश्यक विषयहरूमा ल्याइनुपर्ने सहायता, व्यवस्थापकीय सुधार, नीति-नियम तथा कार्यान्वयन योग्य कानुनका विषयमा समेत सुझाव संकलन गरिएको थियो।
यस तालिममा अभिभावक, शिक्षक, मनोवैज्ञानिक तथा अन्य प्रोफेसनलहरू, र सरोकारवालाहरूलाई एकै स्थानमा ल्याई अटिजमलाई न्यूरोडाइभर्सिटीको दृष्टिकोणबाट बुझ्ने, विद्यालय र सामुदायिक स्तरमा समावेशी शिक्षा अभ्यास, सञ्चार तथा व्यवहार व्यवस्थापनका रणनीतिहरू विकास गर्ने उद्देश्य राखिएको थियो भने अटिजम सहितका व्यक्तिहरूलाई प्रभावकारी रूपमा सहयोग पुर्याउन आवश्यक व्यावहारिक सीप विकासमा पनि जोड दिइएको थियो।
कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजी को अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेशन भारत सँगको सहकार्यमा सञ्चालन भएको हो।
अटिजम एक विकासात्मक अवस्था हो जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार कौशल र व्यवहारमा विविधता ल्याउँछ।
यसमा मुख्य रूपमा सामाजिक सञ्चारमा कठिनाइ आँखाको सम्पर्क कम हुनु, सामाजिक संकेत नबुझ्नु, सम्बन्ध विस्तार गर्न गाह्रो हुनु र दोहोरिने तथा सीमित व्यवहार जस्तै एउटै काम दोहोर्याउने, नियम पालनामा कडाइ, विशेष विषयमा अत्यधिक रुचि, संवेद सम्बन्धी संवेदनशीलता, आदि देखिन्छ । अटिजमलाई “स्पेक्ट्रम” भनिन्छ किनभने प्रत्येक व्यक्तिमा लक्षण र आवश्यकता फरक–फरक हुन्छन ।
कसैलाई धेरै सहयोगको आवश्यकता हुन्छ भने कसैले सामान्य सहयोगबाट पनि स्वतन्त्र रूपमा जीवनयापन गर्न सक्छन्।
अटिजम सहितको अवस्था देखिनुमा कुनै एक मात्र कारण हालसम्म यकिन हुन सकेको छैन तर वंशाणुगत प्रभाव र मस्तिष्कको विकाससँग सम्बन्धित फरकपन मुख्य कारण मानिन्छन्, र यसका संकेतहरू प्रायः बालबालिका ६ देखी १२ महिना हुँदा देखिन सुरु हुन सक्छन् भने १८ देखि २४ महिनामा अटिजमको विश्वसनीय पहिचान गर्न सकिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर हरेक १०० मध्य १ बालबालिका अटिजम सहित हुने अनुमान गरिएको छ भने संयुक्त राज्य अमेरिकामा भने हरेक ३१ बालबालिका मध्य १ बालबालिका अटिजम सहित हुने तथ्याङ्क सार्वजनिक भएको छ।
अटिजमको पहिचानसहितको जनसङ्ख्या अत्याधिक रूपमा वृद्धि भएको जस्तो देखिएता पनि अनुसन्धानकर्ताहरूका अनुसार यसको मुख्य कारण बढ्दो चेतना, प्रभावकारी स्क्रिनिङ तथा प्रारम्भिक पहिचान प्रणालीमा सुधार हो।
अटिजम कुनै निको पार्नुपर्ने रोग होइन बरु यो एक विविध मानवीय अवस्था मध्यको एक अवस्था हो।
सामाजिक अवरोधहरूलाई हटाई, स्वीकारोक्ति, र समता सहितको समावेशि वातावरणले अटिजम सहितका व्यक्तिलाई सहजताका साथ जीवनयापन गर्न सहयोग गर्छ।
व्यवहार थेरापी, स्पिच थेरापी , अकुपेसनल थेरापी, विशेष शिक्षा तथा अन्य शैक्षिक र व्यवहारिक समर्थनले व्यक्तिको जीवनलाई सहज बनाउन सक्छ।
हाल संसारभरि कसैको दया माया र दानमा आधारित सहायताभन्दा पनि अधिकारमा आधारित सहायता अटिजम सहितका व्यक्तिले प्राप्त गर्नुपर्दछ भन्ने आवाज तीव्ररूपमा उठिरहेको छ भने शैक्षिक जीवनमा समेत अलग्याएर छुट्टै पढाउनु वा सिकाउनुको साटो अत्यन्तै कम बाधा हुने वातावरणमा पर्याप्त सहायता सहित समावेशी शिक्षा, सिकाई र सहयोग को पहुँचलाई महत्व दिइएको छ।
आजको दिनमा अटिजमलाई समस्याको रुपमा भन्दा पनि न्युरो-विविधताको रूपमा हेरिनुपर्ने आवाज बुलन्द हुँदै आएको छ।



