विश्वस्तरीय प्रविधि शिक्षा आईबीएम स्कूल कार्यक्रम: औपचारिक रुपमा नेपाल भित्रियो
काठमाडौ । नेपालमै पहिलो पटक इको प्यानल उत्पादन गरेका नेपाल इको प्यानलका संस्थापकद्धय कम्प्युटर इन्जिनियरहरुले नेपालमै पहिलो पटक कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन र साइबर सुरक्षा (साइबर सेक्युरिटी) जस्ता विश्वलाई आकार दिइरहेका महत्वपूर्ण प्रविधिहरूमा व्यवहारिक ज्ञान र अनुभव दिने आईबीएम कार्यक्रम नेपाल भित्राएका छन् । एशियन ई–लर्निङ प्रा.लि.र ट्रान्सन्युरोन टेक्नोलोजिजको साझेदारीमा दुई जना कम्प्युटर इन्जिनियरहरु कृष्णभक्त दुवाल र सुवोध त्रिपाठीले यो कार्यक्रम नेपाल भित्राउन सफल भएका हुन् । काठमाडौं विश्वविद्यालय र काठमाडौ इन्जिनियरिंग कलेजमा दुई दशक अगाडि कम्प्युटर इन्जिनियर पढेका इन्जिनियरद्धय दुवाल र त्रिपाठीले संयुक्त रुपमा यस्तो प्रविधि नेपाल भित्राउन सफल भएका हुन् ।
यो प्रोग्राम नेपालमा भित्याएसँंगै विद्यालयस्तरका विद्यार्थीका लागि भविष्य उन्मुख शिक्षाको नयाँ अध्याय सुरु भएको जनाइएको छ । आईवीएमद्वारा विकसित र यसको आधिकारिक डेलिभरी पार्टनर ट्रान्सन्युरोन टेक्नोलोजी, बैंगलोरमार्फत सञ्चालन हुने यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यक्रम कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन र साइबर सुरक्षा (साइबर सेक्युरिटी) जस्ता विश्वलाई आकार दिइरहेका महत्वपूर्ण प्रविधिहरूमा व्यवहारिक ज्ञान र अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।
इन्जिनियर कृष्णभक्त दुवालले भने, यो कुनै साधारण शैक्षिक कोर्स मात्र होइन, सामान्य पाठ्यक्रमभन्दा बिल्कुल फरक छ । यो विश्वस्तरीय सिकाइ मार्ग हो, जसले विद्यार्थीलाई सानैदेखि उन्नत प्रविधिसँग परिचित गराउँदै उनीहरूलाई भोलिका सिर्जनशील, नवप्रवर्तक र नेतृत्वकर्ता बन्न तयार पार्छ । उनका अनुसार कार्यक्रमलाई चरणबद्ध रूपमा संरचित गरिएको छ, जसले विद्यार्थीलाई उनीहरूको सिकाइ स्तर र तयारीअनुसार क्रमशः अघि बढ्न सहयोग गर्छ ।
उनका अनुसार यसको पहिलो चरण एक्सप्लोर हो, जसलाई एक्सप्लोर, एक्सप्लोर प्लस र एक्सप्लोर एडभान्स गरी तीन भागमा विभाजन गरिएको छ । यस चरणमा विद्यार्थीहरूमा जिज्ञासा विकास, आधारभूत बुझाई र नयाँ प्रविधिप्रति आत्मविश्वास निर्माणमा जोड दिइन्छ ।
दोस्रो चरण डिस्कभर १ र डिस्कभर २ हो, जुन प्रमाणपत्र आधारित पाठ्यक्रमहरू हुन् र यसले विद्यार्थीलाई गहिरो ज्ञान हासिलसँगै विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्छ । तेस्रो वा अन्तिम चरण इनोभेटर १ र इनोभेटर २ हो, जहाँ विद्यार्थीले सैद्धान्तिक ज्ञानभन्दा अघि बढेर आफ्नै उत्पादन र आइडियामा काम गर्न थाल्छन् । यस स्तरमा विद्यार्थीले आफ्ना समाधानहरू विकास गरी भेन्चर क्यापिटलिस्टहरूको प्यानलसमक्ष प्रस्तुत गर्ने अवसर पनि पाउनेछन्, जुन विद्यालय तहमै दुर्लभ व्यावहारिक अनुभव हो ।
यस कार्यक्रमअन्तर्गत प्रत्येक कोर्सले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ । यी प्रमाणपत्रहरूले उच्च शिक्षा र भविष्यको करियरमा महत्वपूर्ण शैक्षिक तथा व्यावसायिक मूल्य थप्ने अपेक्षा गरिएको छ । कार्यक्रमको उद्देश्य परम्परागत शिक्षाबीच र तीव्र गतिमा परिवर्तन भइरहेको डिजिटल विश्वका आवश्यकताबीचको खाडललाई पूरा गर्नु रहेको जनाइएको छ ।
यस कार्यक्रमको नेपालमा औपचारिक शुभारम्भका लागि सेन्ट जेभियर्स गोदावरीले एसियन ई–लर्निङ प्रालिसँंग औपचारिक सम्झौता गरेको छ । सोही दिन कसमस कलेज अफ म्यानेजमेन्त एण्ड टेकनोलोजीसँग पनि औपचारिक हस्ताक्षर सम्पन्न भएको छ । यो सहकार्यले नेपालमा आईवीएल स्कुल प्रोग्रामको औपचारिक सुरुवात भएको हो । यी सहकार्यहरूले नेपाली विद्यार्थीलाई विद्यालयस्तरमै विश्वस्तरीय प्रविधि शिक्षामा पहुँच दिलाउने प्रतिबद्धतालाई बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ ।
सेन्ट जेभियर्स गोदावरीका प्रिन्सिपल विजय टोपोले सम्झौतामा हस्ताक्षरपछि विद्यार्थीहरूलाई सम्बोधन गर्दै यो सहकार्य उनीहरूको भविष्यका लागि अत्यन्त लाभदायक हुने विश्वास व्यक्त गरे । उनले विद्यार्थीलाई यस अवसरलाई पूर्ण रूपमा उपयोग गर्न आग्रह गर्दै विद्यालय तहमै विश्वस्तरीय प्रविधि शिक्षामा पहुँचले उच्च शिक्षा र करियरमा स्पष्ट अग्रता दिलाउने बताए । यो सहकार्यले विद्यार्थीहरूको भविष्यमा ठूलो सकारात्मक प्रभाव पार्नेछ । विद्यालयमै यस्तो अवसर पाउनु सौभाग्यको कुरा हो र यसको भरपूर सदुपयोग गर्नु नै विद्यार्थीहरूको काम हो, उनले थपे ।
एसियन ई–लर्निङ प्रालिका प्रबन्ध निर्देशक इन्जिनियर सुवोध त्रिपाठीले सेन्ट जेभियर्स र कसमस कलेजले देखाएको विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै यस सहकार्यले सकारात्मक परिवर्तन ल्याउने र विद्यार्थीका लागि नयाँ अवसरहरू खोल्ने बताए । उनले कार्यक्रममा सहभागी हुने प्रत्येक विद्यार्थीले वास्तविक र दीर्घकालीन लाभ प्राप्त गर्ने सुनिश्चितता गर्ने प्रतिबद्धता दोहोर्याए । “दुवै संस्थाले हाम्रोमाथि राखेको भरोसालाई हामी पूर्ण जिम्मेवारीका साथ निर्वाह गर्नेछौँ । यस सहकार्यमा संलग्न सबैलाई हार्दिक बधाई छ । यो कदमले विद्यार्थीहरूको पठनपाठनमा साँच्चिकै राम्रो परिवर्तन ल्याउँछ र उनीहरूका लागि नयाँ सम्भावनाका ढोकाहरू खुल्नेछन् भन्ने मलाई पूर्ण विश्वास छ, उनले भने ।
विद्यालय यस पहलप्रति अत्यन्त उत्साहित देखिएको छ र आफ्ना विद्यार्थीहरूलाई ज्ञान, सीप र आत्मविश्वासले सक्षम बनाउने उद्देश्य राखेको छ । यो पहलले नेपालमा नयाँ पुस्ताका विद्यार्थीलाई ठूलो सोच्न, छिट्टै नवप्रवर्तन गर्न र विश्वस्तरमा प्रतिस्पर्धा गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ, हस्ताक्षरपछि जारी विज्ञप्तिमा उल्लेख छ । ज्ञान, सीप र आत्मविश्वासले भरिपूर्ण भावी पुस्ता तयार पार्नु नै यस कार्यक्रमको मूल भावना रहेको विज्ञप्तिमा जनाइएको छ ।
यो सुरुवात नेपालमा विद्यालय शिक्षाका लागि एक ऐतिहासिक कदमका रूपमा लिन सकिन्छ । किनकि यसले अन्तर्राष्ट्रिय रूपमा विकसित प्रविधि शिक्षालाई प्रत्यक्ष रूपमा विद्यालय प्रणालीमा समावेश गरेको छ । यसले विद्यार्थीलाई केवल परीक्षाका लागि होइन, भविष्यका लागि तयार पार्ने दृढ दृष्टिकोण प्रस्तुत गरेको छ ।




