प्रधानमन्त्री वालेनको ‘दोहोरो चरित्र’ : आफूलाई गाली गर्नेलाई पक्राउ, आफ्नै गालीमा मौन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले दोहोरो चरित्र देखाएको आरोप लागेको छ। सामाजिक सञ्जालमा आफूलाई गाली गर्ने व्यक्तिलाई पक्राउ गर्न लगाएका प्रधानमन्त्री वालेनले भने आफूले महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि गरेको गालीगलौजबारे मौनता अपनाएको भन्दै प्रश्न उठेको छ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा प्रकाशित समाचारहरूप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
साइबर अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट अनुमति लिई कानून बमोजिमको प्रक्रिया अवलम्बन गरी अनुसन्धान अगाडि बढाइएको र सोही क्रममा २०८२ चैत २९ गते निजलाई परिवारको जिम्मा लगाइएको मन्त्रालयले उल्लेख गरेको छ।
विज्ञप्तिमा सरकार संविधान प्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने उल्लेख गर्दै आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहेको जनाएको छ।
समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता क्रियाकलाप प्रचलित कानूनविपरीत हुने पनि मन्त्रालयले स्पष्ट पारेको छ। यस किसिमका कार्यहरूमा सम्बन्धित निकायले नियमित प्रक्रिया अन्तर्गत निगरानी गरिरहेको र प्रत्येक नागरिकको मौलिक हक तथा अधिकारको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
तर, प्रधानमन्त्री वालेनले महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गर्दै गालीगलौज गरेको भिडियोबारे भने सरकार मौन बसेको भन्दै आलोचना भएको छ। उक्त भिडियोमा प्रयोग भएका शब्द र अभिव्यक्तिहरूले स्त्रीद्वेष, घृणायुक्त भाषण तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति अपमानजनक व्यवहारलाई प्रोत्साहन गरेको आरोप लागेको छ।
एसियाकै पहिलो समलिङ्गी सभासद् एवं लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मी सुनिल बाबु पन्तले उक्त भिडियो हटाउन प्रधानमन्त्री वालेनलाई सार्वजनिक आह्वान गरेका छन्। पन्तले महिलाविरुद्ध र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायविरुद्ध घृणा फैलाउने सामग्री हटाउन सम्बन्धित निकायसँग तत्काल पहल गर्न आग्रह गरेका हुन्।
पन्तले युट्युब ट्रस्ट एण्ड सेफ्टी टिम, मेटा कन्टेन्ट मोडरेशन टिम तथा नेपाल प्रहरीको साइबर ब्युरोलाई सम्बोधन गर्दै आफ्नो प्लेटफर्ममा होस्ट गरिएको प्रधानमन्त्री वालेन्द्र शाहको भिडियो तत्काल हटाउन औपचारिक अनुरोध गरेका छन्।
उक्त भिडियोमा हाल नेपालका प्रधानमन्त्रीको रूपमा कार्यरत वालेन शाहद्वारा प्रस्तुत गरिएको र्याप गीत समावेश रहेको छ। पन्तका अनुसार भिडियोको सामग्री अत्यन्तै चिन्ताजनक रहेको छ र यसले युट्युब तथा मेटाका कम्युनिटी गाइडलाइन्सको उल्लङ्घन गरेको छ।
उनले विशेष रूपमा भिडियोमा महिलालाई लक्षित गर्दै गरिएको स्त्रीद्वेषपूर्ण र अपमानजनक भाषा, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायविरुद्ध घृणायुक्त अभिव्यक्ति, “छक्का” जस्ता गाली शब्दहरूको हिंसात्मक र अमानवीय सन्दर्भमा प्रयोग, तथा यौन हिंसालाई सामान्यीकरण वा तुच्छीकरण गर्ने अभिव्यक्तिहरू समावेश रहेको उल्लेख गरेका छन्।
पन्तले यस्ता सामग्रीको निरन्तर उपलब्धताले विशेष गरी सम्बन्धित व्यक्तिको वर्तमान राजनीतिक हैसियतलाई ध्यानमा राख्दा समाजमा हानि पुर्याउने, विभेदलाई वैधता दिने तथा सीमान्तकृत समुदायका लागि शत्रुतापूर्ण सामाजिक वातावरण सिर्जना गर्ने बताएका छन्।
उनले सर्वप्रथम नेपालका प्रधानमन्त्रीलाई विनम्रताको भावनासहित उक्त भिडियो हटाउन पहल गर्न आग्रह गरेका छन्। साथै, युट्युब, मेटा र नेपाल प्रहरीलाई आवश्यक कदमहरू चाल्न जोडदार अपिल गरेका छन्।
पन्तले उक्त भिडियो तत्काल हटाउने, प्लेटफर्ममा रहेका सम्बन्धित अन्य सामग्रीहरूको समीक्षा गरी हटाउने, भएको क्षतिप्रति सार्वजनिक स्पष्टीकरण जारी गर्ने, तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायविरुद्ध लक्षित घृणायुक्त अभिव्यक्तिविरुद्ध कडाइका साथ कार्यान्वयन सुदृढ गर्न आग्रह गरेका छन्।
पन्तले यो विषय केवल अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित नभई महिला तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक (GSM) समुदायको सुरक्षा, गरिमा र मानव अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गरेका छन्।



