कर्मचारी विवरण, लोकसेवा प्रवेशपत्र र एनओसी अब नागरिक एपमा
काठमाडौं । सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवाहरूलाई अनलाइनमार्फत उपलब्ध गराउने अभियान अघि बढाएको छ।
यसै क्रममा अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फत प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ। सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले हाल उक्त प्रणाली परीक्षणको चरणमा रहेको र आगामी एक हप्ताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आइसक्ने जानकारी दिए।
यही चैत १३ गते मन्त्रिपरिषदबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत बुँदा नम्बर ३५ मा यो विषय उल्लेख छ। सो बुँदा कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयसीमा सहितको कार्यायोजना तयार पारी सम्बन्धित निकायलाई तोकिएको अवधिभित्रै काम सकिसक्न भनेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले मातहतका सम्बन्धित निकायहरूलाई नागरिक एपमार्फत थप सेवा एकीकृत गर्न तथा डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तारलाई तीव्रता निर्देशन दिएका छन्।
मन्त्रीस्तरीय निर्देशनपछि सूचना प्रविधि विभागले विभिन्न सरकारी तथा प्राविधिक निकायहरूसँग समन्वय सुरु गरिसकेको छ। सोही क्रममा नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी व्यवसायिक इन्जिनियरहरुको प्रमाणपत्र पनि नागरिक एपबाटै उपलब्ध हुने गरी प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक साहले जानकारी दिए।
नयाँ प्रणाली कार्यान्वयनमा आएपछि नागरिकहरूले नागरिक एपमार्फत विभिन्न महत्वपूर्ण सेवा प्राप्त गर्न सक्नेछन् । यसअन्तर्गत लोक सेवा आयोगका परीक्षार्थीहरूले प्रवेशपत्र, वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), तथा निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन् ।
यसअघि नै नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) प्राप्त गर्ने सुविधा सञ्चालनमा आइसकेको छ ।



