सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्काशन मिति परिवर्तन
काठमाडौं । सोपान फर्मास्यूटिकल्सले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको आईपीओको निष्काशन मिति परिवर्तन भएको छ। २०८३ बैशाख २ गतेदेखि ६ गतेसम्म (छिटोमा) आईपीओ निष्काशन गर्न लागेको यस कम्पनीले अब बैशाख ३ गतेदेखि निष्काशन खुला गर्ने भएको छ।
नेपाल सरकार, गृह मन्त्रालयको सूचनाबाट सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा शनिबार र आइतबार बिदा हुने भएकोले निष्काशन मिति परिवर्तन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।



