डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपभासपति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
आईतवार प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, भौतिक, पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।
उपसभापति अर्यालको मात्रै प्रस्ताव आएकाले उनी निर्विरोध निर्वाचित भएको सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले घोषणा गरे। उनले नवनिर्वाचित सभामुख अर्याललाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरे ।
नवनिर्वाचित सभामुख अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पार्टी सभापति लामिछाने सहकारी ठगी अभियोगमा पक्राउ परेका बेला उपसभापति अर्यालले पार्टी हाँकेका थिए । त्यसैगरी उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हाली सकेका छन्।



