१२५२ किलोमिटरको साहसिक यात्रा: ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न
चितवन । आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न भएको छ । हिमालयन राइडर्स चितवनको आयोजनामा भएको यो साहसिक यात्राले ६ दिनमा नेपालका ४ प्रदेश र १६ जिल्लालाई जोडेको छ ।
चैत ११ गते भरतपुर उद्योग वाणिज्य संघबाट सुरु भएको यो यात्रा चैत १६ गते चितवन फर्किएर समापन भएको हो । टोलीले कुल १२५२ किलोमिटरको दूरी पार गरेको छ । यात्राका क्रममा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका १६ जिल्लाहरू समेटिएका छन् । पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण तर विकट मानिएको डोल्पालाई मुख्य गन्तव्य बनाइएको थियो, जहाँ टोली चैत १३ गते पुगेको थियो ।
पर्यटन र सडक सुरक्षाको सन्देश
सडकमा अनुशासित ढंगले गुडिरहेका राइडरहरू र उनीहरूको टल्कने ज्याकेटले सर्वसाधारणको ध्यान खिचेको थियो । प्रत्येक बाइकमा फरक फरक झण्डा फरफराउँदै राइडरहरु गन्तव्यतर्फ अगाडि बढिरहेको दृश्य आकर्षक देखिन्थ्यो ।

नेपालका सुन्दर पहाडी र हिमाली क्षेत्रलाई मोटरसाइकल यात्रामार्फत चिनाउनु नै आफूहरुको मुख्य लक्ष्य रहेको हिमालयन राइडर्सका संयोजक अमृत जोशी बताउँछन् । ‘लक्ष्य अनुसार राइड निकै सफल भएको छ,’ उनले भने ।
यात्राका क्रममा डोल्पामा सरोकारवालाहरुबीच ‘राइड टुरिजम’का सम्भावनाबारे बहस समेत गरिएको थियो । ओझेलमा परेका पर्यटकीय स्थलहरूको उजागर गर्न र सडक सुरक्षाको सन्देश फैलाउन यो यात्रा सफल भएको हिमालयन राइडर्सका सहसंयोजक तथा चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष मोहन केसीले बताए ।
टोलीले चितवनबाट सुरु गरी तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, जाजरकोट, सुर्खेत, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही हुँदै नवलपरासी पूर्व र पश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणसमेत गरेको छ ।
राइडमा सहभागी हुँदा नयाँ अनुभवका साथै आन्तरिक पर्यटन बुझ्ने अवसर मिलेको नासा बागमतीका अध्यक्ष एवं चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजन पियाले बताए । ‘यो यात्राले नेपालमा साहसिक पर्यटन र राइड टुरिजमको राम्रो सम्भावना रहेको पुष्टि भएको छ,’ उनले भने । राइडरहरुका लागि डोल्पा उत्कृष्ट गन्तव्य बन्न सक्ने पिया बताउँछन् । राइडमा २० वटा बाइकमा २३ जनाको सहभागिता थियो ।




