‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ पोखरामा आयोजना गरिने
काठमाडौँ । नेपालको पर्यटकीय राजधानी सुन्दर नगरी पोखराको लेकसाइड, ताल बराही चोकस्थित खेल मैदानमा ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ ।
पहिलो संस्करणमा प्रदर्शक तथा अवलोकनकर्ताहरूको प्रशंसनीय सहभागिता पछि, नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा) द्वारा यही चैत्र ११ गते देखि १५ गते सम्म, ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको हो ।
प्रदेशकै सबै भन्दा वृहत् अटो प्रदर्शनीमा पोखरा महानगरपालिका प्रवर्द्धक रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) ले गरी रहेको छ । प्रदर्शनी सञ्चालनलाई सहज बनाउन प्रायोजन गरी सहयोग प्रदान गर्ने, पावर्डबाईमा राइड इनर्जी, इन्सुरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दीर्घायु पोखरा हस्पिटल, टिकटिङ्ग पार्टनरमा खल्ती एप, क्यु आर पार्टनरमा युनियन पे, हस्पिटालिटी पार्टनरमा टेम्पल बेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिटको प्रा.लि., फर्निचर पार्टनरमा सिटिजन फर्निचर, प्रिन्टिङ्ग पार्टनरमा पोखरा क्रिएटिभ्स प्रा।लि। जस्ता प्रतिष्ठित संस्थाहरू रहेका छन् ।
यस संस्करणमा सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास बारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्ताहरूलाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइने कम्पनीले जानकारी दिएको छ ।
अटो व्यवसायको सुदृढीकरण एवं प्रबद्र्घन, क्षेत्रीय बजारमा सहज पहुँच तथा बढ्दो मागलाई ध्यानमा राखी नेपालमै उत्पादनको सम्भाव्यतालाई समेत समयानुकूल दिशानिर्दिष्ट गर्नका लागि आवश्यक एवं व्यवस्थित वातावरण निमार्ण गर्न यस व्यापारिक प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा विश्वस्त रहेको आयोजकको भनाइ रहेको छ ।
आयोजकका अनुसार विभिन्न जिल्लाहरू एवं प्रदेशहरूबाट हुने व्यावसायिक भेलाले अटो व्यवसाय प्रबद्र्घन मात्र नभई आन्तरिक पर्यटनलाई समेत टेवा पुर्याउने छ । साथै यस प्रदर्शनीले स्थानीय रूपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका समाधानका विकल्पहरू खोज्ने साझा थलो बन्न सक्ने आयोजकहरूको विश्वास रहेको छ ।
नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६ मा १६ वटा ब्रान्डका ४–पाङ्ग्रे, ६ वटा ब्रान्डका लाइट कमर्शियल, १० वटा ब्रान्डका २–पाङ्ग्रे, एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् ।
प्रदर्शनीको थप आकर्षणका निम्ति तथा नयाँ पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका ऐतिहासिक पुराना मोडलका कारहरूको जानकारी उपलब्ध गराउने उदेश्यकासाथ यस संस्करणमा विशेष भिन्टेज कार शोको आयोजना गरिने छ । यसकासाथै अत्याधुनिक प्रविधि विकास एवं नवपरिवर्तन सँग आम सर्वसाधारणलाई साक्षात्कार गराउनकालागि रोबोटहरू पनि प्रदर्शनमा राखिने छ जसमा युनीट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू रहने छन् ।
गण्डकी प्रदेशमा दोस्रो पल्ट हुन गइरहेको यस प्रदर्शनीमा प्रख्यात ब्रान्डहरूका सवारी साधनहरूको सहभागिता रहने बताइएको छ ।
५ दिन सम्म चल्ने यस दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६मा लगभग ४५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका आयोजकको रहेको छ । टिकटमा विशेष आकर्षण स्वरूप खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० जना साधारण टिकटमा पचास प्रतिशत तथा पहिलो १०० जना विद्यार्थी टिकटमा सय प्रतिशत फिर्ता हुने गरी यस अटो शोका क्यु आर पार्टनर युनियन पेद्वारा क्यास ब्याकको व्यवस्था गरिएको छ ।




