इन्फिनिक्स नेपालद्वारा क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त
काठमाडौं । इन्फिनिक्स नेपालले राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दीपेन्द्रसिंह ऐरीलाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा औपचारिक घोषणा गरेको छ । कम्पनीले यसलाई नेपाली युवापुस्ता तथा प्रदर्शनप्रेमी उपभोक्तासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।
आक्रामक खेल शैली र अन्तर्राष्ट्रियस्तरमा कीर्तिमानी प्रदर्शनका लागि परिचित दीपेन्द्र महत्त्वाकांक्षा, गति र नयाँ पुस्ताको प्रदर्शन क्षमताको प्रतीक मानिन्छन् । कम्पनीका अनुसार, यी गुणहरू इन्फिनिक्सले युवापुस्तालाई लक्षित गरी शक्तिशाली र आकर्षक स्मार्टफोन उपलब्ध गराउने आफ्नो दृष्टिकोणसँग मेल खान्छन् ।
यो सहकार्य त्यस्तो समयमा सार्वजनिक गरिएको हो, जब इन्फिनिक्सले आफ्नो बहुप्रतिक्षित नोट ६० सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उक्त सिरिजले प्रदर्शन, डिजाइन र प्रयोगकर्ता अनुभवलाई नयाँ स्तरमा पुर्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
इन्फिनिक्स नेपालका देशीय प्रबन्धक पियुष गिरीले दीपेन्द्रले आत्मविश्वास, उत्कृष्ट प्रदर्शन र निरन्तरताको नयाँ युग प्रतिनिधित्व गर्ने बताए । उनको यात्रा कम्पनीका मूल्यमान्यतासँग पूर्ण रूपमा मेल खाने उल्लेख गरे । उनले नेपालमा ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा आफूहरू उत्साहित रहेको पनि बताए ।
आफ्नो धारणा व्यक्त गर्दै क्रिकेटर ऐरीले इन्फिनिक्ससँग जोडिन पाउँदा गर्व महसुस भएको बताउँदै यस ब्रान्डले युवापुस्तासँग गहिरो सम्बन्ध स्थापित गरेको र निरन्तर नयाँपन ल्याइरहेको उल्लेख गरे ।
यस सहकार्यअन्तर्गत ऐरी नेपालभर इन्फिनिक्सका विभिन्न प्रचार अभियानहरूको प्रमुख अनुहारका रूपमा रहनेछन् । डिजिटल, खुद्रा बजार तथा विभिन्न कार्यक्रमहरूमा उनको सक्रिय सहभागिता रहने कम्पनीले जनाएको छ । आगामी नोट ६० सिरिजको सार्वजनिकतासँगै उनले ब्रान्डको प्रतिनिधित्व गर्ने मुख्य भूमिका निर्वाह गर्नेछन् ।
इन्फिनिक्स एक द्रुत गतिमा विस्तार भइरहेको अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड हो, जसले नवीन प्रविधि, आकर्षक डिजाइन र उच्च प्रदर्शनका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै युवापुस्तासँगको सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।




