बुधबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले आउँदो बुधबार (चैत ४) काठमाडौं उपत्यकाका लागि सार्वजनिक बिदा दिएको छ । सरकारले घोडे जात्राको अवसरमा बुधबार काठमाडौं उपत्यकाभर सार्वजनिक बिदा दिएको हो ।
हरेक वर्ष चैत्र कृष्ण औंसीका दिने घोडे जात्रा पर्व विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइने चलन छ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको र विभिन्न उपाय अपनाएर पीडित स्थानीयवासीले त्यस राक्षसको संहार गरे ।
सोही राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय अन्त्य गर्न भन्दै हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
चैत्र कृष्ण औंसीको राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने जनविश्वास रहिआएको छ ।
यसदिन नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकलासहित विभिन्न कलाकौशल प्रस्तुत गर्ने गरेको छ । हरेक वर्ष घोडे जात्राको दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।


