सेयर बजारमा एकैदिन २१ अर्ब ५० करोड माथिको कारोबार, घट्यो नेप्से
काठमाडौं । मंगलबार सेयर बजारमा साढे ७ महिनायताकै अधिक कारोबार भएको छ । यस दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम त्यसयताकै उच्च हो । २०८१ भदौको अन्तिम दिन बजारमा २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ ।
चुनावपछि खुलेको बजारमा अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै कारोबार स्थगित भएको थियो । जसले गर्दा किनबेच गर्न चाहनेले पनि पाएका थिएनन् । अघिल्लो दिन जम्मा ५५ करोडको कारोबार भएको थियो ।
कारोबार रकममा उच्च वृद्धि देखिए पनि बजारको परिसूचक नेप्से ३२.०८ अंक (१.११ प्रतिशत) घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८४३ अंकमा कायम भएको छ । अघिल्लो दिन ६ प्रतिशत बढेर कारोबार स्थगित भएको थियो ।
बजारमा आज तीव्र उतारचढाव देखियो । कारोबार सुरु भएपछि नेप्से परिसूचक १२ : ३५ बजे २७९६ अंकसम्म झरेको थियो । त्यसपछि सम्हालिएर अन्तिम समयसम्म कायम रह्यो ।
७८ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ५ को स्थिर रह्यो । निर्जीवन बीमा ०.४७ र जीवन बीमा ०.५१ प्रतिशत बढे । बैंकिङ १.२७, विकास बैंक १.१६, फाइनान्स २.०६, होटल तथा पर्यटन १.८५, जलविद्युत् १.४५, लगानी १.४८, उत्पादन तथा प्रशोधन १.८२, माइक्रोफाइनान्स ०.१७, अन्य १.४० र व्यापार २.१२ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंक छन् । थ्रीस्टार हाइड्रोपावरको ९.०८, कालिका पावरको ८.८७ तथा लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.४२ प्रतिशत मूल्य बढ्यो ।
हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट छन् ।




