प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ: गौरीबहादुर कार्की
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न बनेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगको प्रतिवेदन कार्यान्वयन भए देशको मुहार फेरिने बताएका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै उनले यस्तो बताएका हुन् ।
कार्कीले आयोगले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए । भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उनको भनाइ छ ।
‘कुशासनका कारण यो घटना भएको छ । नियमनकारी निकायहरूलाई विकृत पारिएको छ । न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ । न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ । यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ’, अध्यक्ष कार्कीले भने ।
आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताए ।
अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्ने बताए ।
प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताइन् ।
‘तपाईंहरूले एकदमै मेहनत गर्नुभएको छ, यसका लागि धन्यवाद छ । शुरूमा जुन समयावधि तोकेका थियौं, हाम्रो स्रोतसाधनका कारण त्यो पुग्दो भएनछ । पछि समय पनि थप्नुपर्ने भयो । तर न्याय, कानून र अनुसन्धानको क्षेत्रमा तपाईंहरूको विज्ञता र योग्यताबारे थाहा पाएर नै आयोगमा नियुक्त गरेका हौ’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘आ-आफ्नो क्षेत्रमा तपाईंको प्रख्याति छ । त्यसको प्रतिविम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास छ । दूधको दूध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ ।’
अब यसको अध्ययन गरी कार्यान्वयनको प्रक्रिया अघि बढ्ने प्रधानमन्त्री कार्कीले बताइन् । साथै, सार्वजनिक गर्ने कुरामा पनि छलफल गर्ने र यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ ।


