रास्वपाले विजयी र्याली नगर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले आफ्ना उम्मेदवारलाई जितपछि कुनै पनि प्रकारको विजय उत्सव नमनाउन अपिल गरेका छन् । संघीय निर्वाचन सम्पादन समितिका संयोजक समेत रहेका अर्यालले विजयी भएका वा हुने क्रममा रहेका उम्मेदवारलाई अबिर जात्रा, र्याली र फूलमाला जस्ता तामझाम नगर्न आग्रह गरेका हुन् ।
यो समय खुसीयाली मनाउनेभन्दा पनि काम गर्ने बेला भएको उनले शुक्रबार एक भिडियो सन्देशमा बताए । ‘जनताले हामीलाई काम गर्नका लागि म्यान्डेट दिएका हुन्, र्याली निकाल्न होइन,’ अर्यालले भने ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेताहरूको समेत सहमतिमा यस्तो निर्णय गरिएको उनले जानकारी दिए । अर्यालले मतदातालाई धन्यवाद दिन पछि घरदैलोमा पुग्ने भए पनि अहिलेका लागि कुनै पनि र्याली वा बाजागाजा नगर्न र मतगणना स्थलमा धन्यवाद दिएर मात्र कार्यक्षेत्रमा जान अपिल गरेका छन् । अहिलेको राजनीतिक परिवर्तन र जनताको विश्वासलाई जोगाउन तामझामभन्दा काम नै मुख्य हुने रास्वपाको ठहर छ ।




