निर्वाचनका दिन पानी पर्ने सम्भावना छैन
काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका दिन वर्षाको सम्भावना रहेको छैन।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले भोलि मौसम सफा रहने र देशका कुनै पनि ठाउँमा वर्षा नहुने जनाएको छ।
मौसमविद् बरुण पौडेलले भोलि अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जानकारी दिए। “निर्वाचनको दिन देशभर मौसम सफा रहने छ, हामीले निर्वाचन आयोगका प्रतिनिधिलाई पनि मौसमसम्बन्धी जानकारी दिँदै आइरहेका छौँ”, उनले भने।
पौडेलका अनुसार शुक्रबार भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। विभागका अनुसार आज कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना छ।
लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। मधेस प्रदेशसहित तराईका भू-भागमा सामान्यतया सफा मौसम रहने जनाइएको छ।
महाशाखाले निर्वाचन अवधिभर मौसमको निरन्तर अनुगमन तथा विश्लेषण गरिरहेको जनाएको छ। आवश्यकताअनुसार बुलेटिन अद्यावधिक गरिने उल्लेख गर्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई अद्यावधिक मौसम सूचनामा ध्यान दिन अनुरोध गरिएको छ।




