निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन्।
निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई आग्रह गरेका हुन्।
गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा बिहीबार चुनाव हुन लागेको हो।
आयुक्त भण्डारीले निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गरे। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले जनाए।
निर्वाचनलाई कुनैपनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन आयोग दृढ संकल्पित रहेको भण्डारीले जनाए।
प्रमुख आयुक्त भण्डारीले मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिको रूपमा लिइने भन्दै सुसूचित मतदानले शासनप्रतिको नागरिक अपनत्व बढाउने उल्लेख गरे।
‘गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको यो आकस्मिक प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ ले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास मैले लिएको छु, भण्डारीले अगाडि भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदछु । निर्वाचनमा मतदाता र मतदान सर्वाधिक महत्वपूर्ण हुन्छ ।’




