चितवनमा मतपत्र जोगाउन गणनास्थलमा १० फिट अग्लो तारजाली
चितवन । फागुन २१ मा हुने निर्वाचनअन्तर्गत यहाँ मतपत्र जोगाउन मतगणना स्थलमा १० फिट अग्लो तारजाली लगाइएको हो । विगतमा मतपत्र च्यातिएको घटनालाई सिकाइका रूपमा लिँदै १० फिट अग्लो तारजाली लगाइएको हो ।
यहाँ मतगणनाका लागि क्षेत्र नम्बर–१ मा भुवानीशंकर कलेज खैरहनी, २ मा उद्योग संघ परिसरभित्रको प्रदर्शनी हल र ३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर तोकिएको छ ।
यसैगरी, मतगणनास्थलमा आवश्यक मात्रामा सीसीटीभीसमेत जडान गरिएको छ ।
चितवनका तीनवटै क्षेत्रमा मतपत्र पुगिसकेको र मतगणनाका लागि स्थल निर्माणको काम धमाधम भइरहेको मुख्य निर्वाचन अधिकृत केदार पौडेलले जानकारी दिए ।
मतगणनाको समयमा उक्त स्थानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीबाहेक कोही पनि तारजाली भित्र छिर्न पाउने छैनन् । उमेदवारका प्रतिनिधि र सम्बन्धितलाई तारजाली बाहिरबाट हेर्न दिइने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए।
चितवनमा ०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरको मतगणनाका क्रममा उमेदवारका प्रतिनिधिले मतपत्र चपाएका थिए । सोही घटना दोहोरिन नदिन सजकता अपनाउन थालिएको हो ।


