जनताले कसलाई सुम्पेलान् प्रधानमन्त्रीको कुर्सी ?
रिसव गौतम
अर्को हप्ता नेपालमा चुनाब हुँदैछ । अब कसले, कुन दलले चुनाव जित्ला ? कसले कति सिट ल्याउला ? भावी प्रधामन्त्री को होला भन्ने जस्ता कुरामा आम चासो छ ।
संघारमै आएको चुनाबमा धेरैले फलानो पार्टी वा फलानो उमेदवारलाई भोट हाल्नुपर्ला भनेर एक किसिमको आत्मनिर्णय गरि सके । यसबीच दल र तीनका उमेदवारहरु जनताको घरआँगमा गएर भोट मागेको माग्यै छन् । कोहीले चटक देखाए, कोहीले भोट माग्दै साखिली पल्टेर न्यायो अँगालो हाले । कोहीले आशाका पोका पुन्तुरा फुकाए । कोही रिर्टायड हुँ भन्दै, कोही बिजुली बालेँ भन्दै, कोही अमेरिका छोडेर आएँ भन्दै, कोही विदेशी डिग्री लिएर आएँ भन्दै त, कोही रैथाने हुँ भन्दै चुनाबमा भोट मागिरहे । तर राजनीति उच्च स्तरको समाजसेवा हो । म देशबाट लिन होइन् देशलाई दिन आएको हुँ धेरैले भनेनन् । बरु देशलाई सिंगापुर, स्वीजरल्याण्ड हुँदै इन्डोनेशियाको बाली बनाउने कुरा गरे ।
यो देशलाई अरु देश जस्तो किन बनाउनु र ? नेपाल ऋषिमुनीहरुले तपस्या गरेको हिमालै हिमाल र गगनचुम्बी धार्मिक पहाड–पहाडको र बुद्ध जस्तो विश्वलाइ पाठ पढाउने ज्ञानका देव जन्मेको देश हो । यो देश अरु भन्दा भिन्न हो र यसको महत्व महाकवी लक्ष्मिप्रसाद देबकोटाले भने जस्तो विशाल छ । यसको मौलिकता र प्राकृतिक चित्र विकसित भनिएका डलरपती देशहरुको भन्दा कहाँ हो कहाँ धेरै आर्कषक छ । ल अमेरिका र युरोपले बनाओस् त हाम्रो जस्तो सगरमाथा ? बनाओस् त बुद्धभुमी अर्थात लुबिम्नी ? त्यो सकिने कुरा हो र ? त्यसकारण आफनै मौलिकता र प्राकृतिक सम्पदा हाम्रो आस्था र हामी बाच्ने जिजिबिशा हुन् । त्यसलाई अबमुल्यन गर्नु वा बहकिनु जायज छैनन् ।
अर्को, राष्ट्रिय तथ्याकं कार्यालयको अनुसार देशमा २१ प्रतिशत अर्थात ६२ लाख ६६ हजार निरपेक्ष गरिव जनता छन् । देशमा साक्षरता दर नै जम्मा ७६ प्रतिशत छ । साक्षरता भनेको साधारण लेखपढ गर्नसक्ने मात्रै हुन् । विषयवस्तु बुझ्ने र अर्काको बहाकाउमा नपर्ने हुनका लागि शिक्षत हुनुपर्छ । विश्वविद्यालय पढेको हुनुपर्छ । नेपालमा शिक्षित जनसंख्या धेरै कम छ । फलस्वरुप गरिव तथा अशिक्षित जनसंख्याको बाहुल्यता भएको देशमा चलाख एवं धुर्त उमेदवारहरु निर्वाचनमा हाबी हुन्छन् । विगतमा भएको त्यहि हो । सहि उमेदवारले चुनाब नजित्दा धुर्त, अवसरबादी र पैसाको बलमा चुनाब जित्नेहरु धेरै थिए । यसपाली त्यो नहोस् । जनताले वास्तविक राजनीतिज्ञ अर्थात समाजसेवालाई कर्म बनाएर उदाएका ब्यक्ति चिन्न सकुन् । पैसाको बलमा राजनीतिमा उदाएका र पैसाकै बलमा चुनाब जितेर मन्त्री, सासंद हुन चाहेका अवसरबादीहरुलाई चिन्न जरुरी छ ।
प्रधानमन्त्री ः बालेन, गगन कि प्रचण्ड ?
चुनाबी मैदानमा अहिले खासगरी काँग्रेस, एमाले, नेकपा र रास्वपा गरी ४ पार्टीको देशब्यापी चर्चा छ । त्यसबाहेक राप्रपा, उज्यालो नेपाल, श्रमसँस्कृति, जनमत र जसपा लगायतका पार्टीहरु चुनाबी मैदानमा छन् । एकाथरी परम्परागत बुद्धिजिवीहरुले प्रधानमन्त्रीमा बालेन, गगन वा केपिको बढी चर्चा गरेका छन् । खासगरी तिनका पार्टीहरुले तिनलाई प्रधानमन्त्री तोकरै चुनाबी मैदानमा गएकाले त्यस्तो चर्चा छ । तर संसदीय ब्यवस्थामा चुनाबको परिणामले सरकार बनाउने अधिकार पाउनेछ । त्यसकारण अबको निर्वाचनबाट नतोकिएकाहरु पनि प्रधानमन्त्री हुन सक्छन् ।
जस्तो कि अहिले प्रधानमन्त्रीमा रास्वपाबाट बालेनको जो चर्चा छ । उनी ३ बर्ष काठमाण्डौ महानगरपालिकाको मेयर भएर काम गर्दा दाग नलागेका पात्र हुन् । काठमाण्डौ महानगरमा केहि देखिने काम गरेका कारण उनी चर्चामा छन् । जस्तो कि उनले सार्वजनिक सम्पति हडपेर बनाइएका घर, टहराहरु निडरतापुर्बक भत्काए र राज्यको संपत्तिको संरक्षण गरे । फुटपाथ ब्यवस्थापन, ब्यवस्थीत सडकपेटी निर्माण, नीजि स्कुलहरुमा १० प्रतिशत निशुल्क छात्रवृत्ति तथा हस्पिटलहरुमा निशुल्क उपचार जस्ता ब्यवस्था मिलाए । उनले महानगरबासीको लागि धेरै गरे । तर राष्ट्रब्यापी रुपमा महानगरमा आएर बस्ने र सडकपेटीमा मैकै पोल्ने, साँझपख कपडाको ब्यापार गर्नेहरुलाई धपाए । र, महल तथा सडरमा ब्यवसाय गर्नसक्ने धनीहरुलाई सघाए । उनले सोचेनन् काठमाण्डौ महानगरपालिकामा ७७ वटै जिल्लाका मानिस बस्छन् र त्यहाँ तिनको पनि हक लाग्छ भन्ने । मात्र उनले काठमाण्डौ महानगरका भोटरहरुको मात्रै हकहितमा काम गरे । सडकमा ब्यापार गर्नेहरुको आँखामा आँशुको भेल बगेको उनले देखेनन् । फलस्वरुप धेरैले काठमाण्डौ बस्न नसकिने रहेछ भनेर शहर छोडे । मान्छेहरु दुख परेपछि शहर पस्छन् र सडकपेटीबाटै पौरख गरेर देखाउँछन् भन्छन् । त्यो यहाँमात्र होइन् संसारभरका कवि, साहित्यकारका कथनी हुन् । तर बालेनको चस्माले दुखियाहरुको दुख कहाँ देख्थ्यो र ? त्यतिमात्र कहाँ, उनले त खोला किनारमा टिनका छाप्रा हालेर बर्षौदेखि बसिरहेका सुकुम्बासीहरुको बस्तीमा मध्यरातमा डोजर चलाए । उनको अभिष्ट सार्वजनिक जग्गा फर्काउनु थियो । विडम्बना त्यहाँ उनको मानवता मर्यो । काठमाण्डौमा सुकुम्बासी र गरिवहरुलाई लखेटेका बालेन शाहहरु अहिले भोट बैंक देखर तराइ झेरका छन् र भनिरहेका छन् कि हम मधेशीछि, मधेशका आदमी प्रधानमन्त्री हुनेवाला छि । भोट दिनुस् ।
मानिस चरा भन्दा स्वतन्त्रताको दौडमा रहेको आधुनिक लोकतन्त्रको यो जमानामा सार्वजनिक बहस समेत नर्काने ब्यक्ति हुन् बालेन । उनी निस्कलंक छन् । तर हामीलाई चाहिएको प्रधामन्त्री निश्कंलक तर निरंकुश होइन् । बालेन त मेयर हुँदा पत्रकारहरुसँग पनि भेटदैनथे । उनी प्रश्नसँग सधै डराउथेँ । तुच्क्ष गाली, छाडा बोल्न खप्पिस उनी सिमित पत्रकार तथा युटुबरहरुमा घेरामा थिए । कम उमेर, न्युन अनुभव र ब्यवहारिक कमजोरीका कारण उनी अहिल्यै प्रधानमन्त्री बन्न योग्य छैनन् । तर उनी भविष्यका उदयीमान नेता हुन् । किनकी आगामी बर्षहरुले उनलाई अनुभवको पहाड दिलाइदिन सक्छ । अहिले चाँही प्रधानमन्त्रीको रुपमा आम देशबासीको आँशु, हाँसो र सपनामा परिपक्क ब्यवहार उनीबाट हुनसक्दैन । फेरी प्रधानमन्त्री पद भनेको मेयर पद जस्तो होइन् जुन पदमा बसेर विश्व समुदायसँग प्रत्यक्ष संवाद जरुरी हुन्छ । कुटनीति दर्शाउनु पर्छ । त्यो उनीबाट अहिल्यै सम्भव छैन । फेरी उनको पार्टी रास्वपा र रवी लामिछाने, स्वर्णिम वाग्लेहरु धनीहरुको सेवा गर्ने सिद्धान्तमा अडिग छन् । समाजिक बजार अर्थतन्त्र उनीहरुको आर्थिक प्रणाली भएपनि नेपाली काँगे्रसकै जस्तो उनीहरुको आर्थिक नीति हो । मुलत रास्वपा पुँजीबादी पार्टी हो ।
नेपाली काँग्रेसका नवनिर्वाचित सभापती गगन थापा त भाषणबाज हुन् । उनी सुन्दर र तर्कशील ढंगले बोल्न सक्छन् । विगतमा धेरै बोलेकै कारण देउवा काँग्रेसको मारमा परेर अवसर नपाएका नेता हुन् । शेरबहादुर भन्दा त कहाँ हो कहाँ उनी ठिक छन् । तर, उनी ठिक भएपनि काँग्रेसको नीति ठिक छैन । सिद्धान्त ठिक छैन । उनीहरुको आर्थिक सिद्धान्त पुँजीबादी हो । त्यसकारण देशका धेरैजसो धनी, सम्रान्त, पैसावाल र उद्योगी व्यवसायी त्यो पार्टीमा छन् । किनकी त्यो पार्टीले धनीहरुलाई झन् धनी बनाउन र उनीहरुको धनको सुरक्षा गर्न अहम भुमिका खेल्छ । तर, वितेको ३५ बर्षमा काँग्रेस पार्टीले गरिव तथा मध्यम आय भएकाहरुलाई धनी बनाउन खोजेन । तर सक्ताको सेरोफरोमा त्यही पार्टी वितेको ३ दशकमा हाबी छ । राजाकै पलामा पनि उही प्यारो थियो । भनेपछि त्यो पार्टीबाट गरिव तथा सर्वहारा, किसान, मजदुरको पक्षमा बजेट बन्छ त ? विकासका कार्यक्रम बन्छ त ? १५औ आवधिक योजनामा नै १० प्रतिशतमा गरिवी झार्ने लक्ष्य थियो । अहिले १६ चलिरहँदा पनि देशमा अहिले २१ प्रतिशत गरिवी छ । बार्षिक रोजगारी सिर्जना १ प्रतिशत छैन । साराका सारा बेरोजगार छन् । अनि त्यो गरिवी र बेरोजगारी घटाउने नभइ बढाउने काँग्रेसी घोषणपत्र र नीति कार्यक्रमको पछि किन लाग्नुपर्ने ? गगनले सभापती पद शेरबहादुरबाट आफुमा तानेका हुन् पार्टी नीति, सिद्धान्त फेरका होइनन् ।
नेकपाका संयोजक प्रचण्ड सधैभरी घेराबन्दीमा परेका पात्र हुन् । उनलाई भष्टाचार विरुद्ध, शुशासनको पक्षमा काम गर्दागर्दै विचौलियाहरुले मध्येरातमा प्रधानमन्त्रीबाट हटाइएका हुन् । प्रचण्ड, नारायणकाजी लगायतको टीमले पछिल्लो सरकारमा राम्रो गर्दागर्दै हटाइएका हुन् । प्रचण्ड आजपनि क्रान्तिकारी नेता हुन् । लगाउनेहरुले त उनलाई अनेक लान्छना लगाउँछन् । बानेश्वर देखि माइतीघरसम्मका सबै भवनहरु प्रचण्डका हुन् पनि भनेका हुन् । भएभरका घघडान ब्यापारीहरु प्रचण्डकै गोजीका हुन् भन्दै खुइल्याएका पनि हुन् । अझ विगतमा गगनहरुले प्रचण्डहरुलाई ललकार्दै भन्नेगर्थे टुरिस्ट उमेदवारलाई भोट नदिनुहोस् । तर आज गगनहरु नै काठमाण्डौबाट चुनाब हार्ने डरले तराइ झरेका छन् । प्रचण्ड त रुकुम जस्तो अति गरिव जनताको घरआँगनमा ७० बर्षको उमेरमा भोट माग्न डाँडोपाखो गर्दै छन् । त्यहाँको जनताको मरेको आत्मविश्वास र भरोषा जगाएर बाच्ने जिजिविशा भरेका छन् । अहिलेको अवस्थामा साँच्चिकै क्रान्तिकारी नेता प्रचण्ड नै हुन् । यो संविधानमा लिपिबद्ध संघीयता, समावेशिता, लोकतन्त्र वा गणतन्त्र सबै प्रचण्डहरुले दश बर्ष लडेर ल्याएका हुन् ।
अल्पसंख्यक, गरिव, निमुखा, किसानको मर्म नबुझनेहरुलाई सायद त्यो कुराले नछोला । तर यो संविधानको मर्म र मुटु प्रचण्डहरु हुन् जसले आफनै जिउज्यान हत्केलामा राखेर ल्याए । प्रचण्डको पार्टी ०६४ मा १२० सिट ल्याएर ठुलो बन्यो । तर त्यो बेलाको काँगे्रस नेतृत्वले उनलाई ६ महिना त सरकार बनाउनै नदिएको इतिहास साक्षी छ । सरकारै बनाउन ६ महिनासम्म नदिएका काँग्रेस–एमालले माओवादीलाई ९ महिना पनि सरकार चलाउन दिएन । त्यत्रो ठुलो पार्टी हुँदा क्रान्तिकारी स्प्रीटमा आएको एउटा बजेटसम्म कार्यान्वय गर्न नदिएकोे उनलाई केही गरेन भनेर उनै काँग्रेस–एमाले भन्छन् । तर मध्यपहाडी लोकमार्ग, काठमाण्डौ–निजगढ फाष्ट ट्रर्याक जस्ता नेपालका १९ ठुला राष्ट्रिय गौरवका आयोजना माओवादी सरकारले नै अघि बढाएको हो । संविधान बनेर यो दश बर्षमा पनि माओवादीले जनताबाट राम्रो अभिमत पाएन । फलस्वरुप सरकारमा छिटपुट रहँदा उसको नेतृत्व कमजोर रहयो । कचिपय कमजोरी उसका पनि थिए । सौदाबाजीमा उ रमायो । प्रचण्डहरुबाट धेरै अवसरबादीहरुले अवसर लुटे । तर ती पर्दा कतै हराए । पार्टीभित्रकै कतिपयहरु अधिक क्रान्तिकारी पल्टेर उनलाई नै खेद्न लागे । वास्तम्बमा क्रान्तिकारी नेता प्रचण्डले आफनो स्प्रिडमा काम गर्न पाएनन् । अहिले उनले २२ वटा कम्युनिष्ट घटक मिलाएर नेकपा बनाएका छन् । शान्ति प्रक्रिया पछिका सबैभन्दा शिनियर नेता उनै हुन् । उनलाई विश्व समुदायले चिन्छ । र, त्यो समुदायसँग उनी सहज रुपमा ट्याकल गर्न सक्छन् । उनले गरिव तथा किसानका एजेण्डा छाडेका छैनन् । देशमा गरिवको कोही छ भने सिद्धान्तत नेकपा पार्टी छ । उनी अनुभवले गाँजिएका छन् ७० बर्षमै उनी भरभराउँदो युवाको जस्तो जोश जाँगर छ । यो संविधान पनि उनकै नेर्तत्वमा लडेर ल्याइएको संविधान हो । विगतमा उनले ब्यवस्था बदले पनि अवस्था बद्ल्ने गरी नेतृत्व गर्न पाएनन् ।
त्यसकारण प्रचण्डले सरकारको नेतृत्व गर्नै मिल्दैन भन्याजसरी बुद्धिजिवीहरुले बाटो छेक्न पाउँदैनन् । अबको प्रधानमन्त्री बालेन, गगन, केपि वा प्रचण्ड जसलाई जनताले विवेकको मत दिन्छन् उनैको त्यहाँ हक रहन्छ ।




