इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले नेपालका आफ्ना ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१% सेवा शुल्क लागू गरेको घोषणा गरेको छ । फेब्रुअरी २०२६ देखि लागू भएको यस पहलले ड्राइभर पार्टनर्सलाई आफ्नो आम्दानीको लगभग सम्पूर्ण हिस्सा सुरक्षित राख्न सहयोग पुर्याउनेछ, जसले उनीहरूको आर्थिक सशक्तिकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
इनड्राइभको विशिष्ट पियर–टु–पियर (P2P) मोडेलअनुसार यात्रु र चालकबीच भाडा पारस्परिक सहमतिमा निर्धारण हुने व्यवस्था रहेको छ । लगभग शून्य सेवा शुल्कको यो नयाँ नीतिले सो प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र चालक–मैत्री बनाउँदै ड्राइभर पार्टनर्सलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
यस पहलको मुख्य उद्देश्य प्लेटफर्मको दीगो सञ्चालन सुनिश्चित गर्दै चालकहरूको वास्तविक आम्दानी बढाउनु, उनीहरूको स्वायत्तता सुदृढ गर्नु तथा सेवा प्रदान गर्ने क्रममा निर्णय लिने स्वतन्त्रतालाई अझ बलियो बनाउनु हो। कम्पनीका अनुसार यस्तो न्यून सेवा शुल्क संरचनाले इनड्राइभलाई निष्पक्ष मूल्य निर्धारण र “फेयर राइड्स” को अवधारणालाई व्यवहारमा उतार्ने अग्रणी प्लेटफर्मका रूपमा स्थापित गर्न थप मद्दत गर्नेछ ।
यो ०.०१% सेवा शुल्क अभियान इनड्राइभले दैनिक रूपमा शहरलाई गतिशील बनाइराख्ने मेहनती ड्राइभर पार्टनर्सप्रति कृतज्ञता व्यक्त गर्ने एक विशेष प्रयास पनि हो । आर्थिक दबाब कम गर्दै र हातमा आउने आम्दानी बढाउन सहयोग पुर्याउँदै, यस पहलले अभियान अवधिभर चालकहरूलाई थप कमाउने अर्थपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
“इनड्राइभमा हामी आफूलाई ठूलो समुदायको एक हिस्सा ठान्छौं, र बलियो समुदायहरू पारस्परिक सहयोगमा आधारित हुन्छन भन्ने हाम्रो विश्वास छ,” इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुश्री सुनिता जीमी राईले बताइन् ।
“०.०१% सेवा शुल्क लागू गरेर हामी हाम्रा ड्राइभर पार्टनर्सले बढी कमाउन सकून भन्ने सुनिश्चित गर्न चाहन्छौं, जसले गर्दा यात्रुहरूले सुरक्षित, निष्पक्ष र किफायती सवारीको अनुभव लिइरहनेछन् । यो पहलले सबैका लागि छनोटको स्वतन्त्रता, उचित मूल्य निर्धारण र सुरक्षाप्रतिको हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।”
तत्काल लाभभन्दा पर गएर, यो अभियान सिकाइ पहलको रूपमा पनि अघि बढाइनेछ, जसले ड्राइभर संलग्नता, सेवा गुणस्तर तथा दीर्घकालीन प्लेटफर्म दिगोपनमा लगभग शून्य सेवा शुल्कको प्रभावलाई अझ राम्रोसँग अध्ययन गर्न कम्पनीलाई सहयोग गर्नेछ ।
कम्पनी जिम्मेवार विकास, नियामक पालना तथा निष्पक्ष प्रतिस्पर्धाप्रति प्रतिबद्ध रहँदै नेपालको विकसित हुँदै गएको डिजिटल तथा गिग–अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याइरहेको छ । साथै, इनड्राइभले आगामी दिनहरूमा पनि ड्राइभर–केन्द्रित पहलहरू, तालिम कार्यक्रम तथा कल्याणकारी गतिविधिहरू मार्फत आफ्ना पार्टनर्सलाई थप सहयोग पुर्याउने लक्ष्य राखेको जनाएको छ ।




