बर्दिबासमा विमोचित बेल बहादुर परियारको ‘फूल खसिगो, माया बसिगो’
बर्दिबास । लोक तथा दोहोरी संगीतको समृद्ध परम्परालाई निरन्तरता दिँदै आएका गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो मंगलबार बर्दिबासमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न विमोचन समारोहमा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरेका हुन् । विमोचनपश्चात म्युजिक भिडियो प्रोजेक्टरमार्फत उपस्थित दर्शक–श्रोतामाझ प्रदर्शन गरिएको थियो ।
गायक बेल बहादुर परियार र प्रतिमा अर्यालको सशक्त स्वर रहेको गीतमा प्रेम, विछोड र मानवीय संवेदनालाई लोकलयमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । गीतका शब्द तथा सङ्गीत स्वयं परियारकै रहेको छ भने एरेञ्ज, मिक्स र मास्टरिङ राजिव शाहले गरेका हुन् । म्युजिक भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिनाले गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन नगरी समग्र सांस्कृतिक विकास सम्भव नहुने बताए । उनले गायक परियारलाई व्यवसायिक तथा राष्ट्रिय कलाकारका रूपमा स्थापित गराउन नगरपालिकाले नीति, कार्यक्रम र सहकार्यका माध्यमबाट सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख अतिथि मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापाले परियारले दशकौँदेखि लोक संगीतमार्फत समाजका भावना, पीडा र यथार्थलाई स्वर दिँदै आएको उल्लेख गरिन् । पर्याप्त प्रचारको अभाव हुँदाहुँदै पनि निरन्तर सिर्जनामा लागिरहनु आफैंमा प्रेरणादायी भएको बताउँदै उनले कलाकारको पहिचान विस्तारमा सञ्चार माध्यमको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीका अध्यक्षसमेत रहेका गायक परियारले आफ्नो नयाँ सिर्जनालाई लामो सांगीतिक यात्राको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गरे । उनले कलाकारले भोग्दै आएको संघर्ष, साधना र चुनौतीका बीच दर्शक–श्रोताको माया नै सिर्जनाको सबैभन्दा ठूलो ऊर्जा भएको उल्लेख गर्दै गीतलाई हेर्न, सुन्न र माया गर्न आग्रह गरे ।
विमोचन समारोहमा नरहरी गौतम, कृष्ण गौतम, हिरा गौतम, रूद्रसेन विश्वकर्मा, जमुना पोख्रेल, मञ्जु क्षेत्री, रञ्जना माझी, सरिता ढुङ्गाना लगायत समाजसेवी, पत्रकार, राजनीतिक प्रतिनिधि तथा विभिन्न क्षेत्रका शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बिनोद ढुङ्गेलले गरेका थिए ।
गायक परियारले २०५१ सालमा रेडियो नेपालबाट ‘जाग नेपाली वीर नेपाली’ गीत गाएर औपचारिक गायन यात्रा सुरु गरेका हुन् । त्यसयता सिन्धुलीका सुसेलीहरू, गरौं है रमाइलो (देउसी गीत), मिठो सम्झना (तीज गीत), सुनको थैली चाँदीको झुम्कना जस्ता थुप्रै लोकप्रिय लोकगीतहरू सार्वजनिक गरिसकेका छन् । नयाँ गीत ‘फूल खसिगो, माया बसिगो’ ले पनि दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय अन्तर्वार्ता कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो । म्युजिक भिडियो गायक बेल बहादुर परियारको आधिकारिक युट्युब च्यानल ‘बेल बहादुर परियार अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो ।



