एनएमबि बैंकको खुद ब्याज आम्दानी बढेपनि नाफा घट्यो
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको आम्दानीमा वृद्धि देखिएको हो।
गत आवको पुस मसान्तसम्म ४ अर्ब २५ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले सोको तुलनामा चालू आवको सोही अवधिमा १२.१८ प्रतिशतको वृद्धि सहित ४ अर्ब ७७ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ।
त्यसैगरी बैंकको खुद फी तथा कमिशन आम्दानी १ अर्ब १० करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब ३४ करोड २९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ५ अर्ब ६८ करोड ४६ लाख रुपैयाँबाट बढेर ६ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ कायम भएको छ।
आम्दानीमा वृद्धि देखिए तापनि बैंकको इम्पेयरमेन्ट चार्ज बढेका कारण नाफामा भने संकुचन देखिएको छ। गत आवको पुस मसान्तसम्म बैंकको इम्पेयरमेन्ट चार्ज ३४ करोड ४७ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ।
जसकारण बैंकको खुद नाफा २ अर्ब ३५ लाख रुपैयाँबाट घटेर १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि २ अर्ब ९६ करोड २८ लाख रुपैयाँबाट घटेर २ अर्ब ५१ करोड रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँबाट घटेर ५६ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २०.७८ रुपैयाँबाट घटेर १७.१० रुपैयाँमा झरेको छ। एनपीएल ३.९६ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुग्दा प्रतिशेयर नेटवर्थ १६८.७५ रुपैयाँ कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ।
चुक्ता पूँजी १९ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकले २ खर्ब ३९ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।



