पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा पनि पानी पर्ने पूर्वानुमान
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिम नेपालका पहाडी तथा तराई भूभागमा वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमा देखिएको छ।
विभागका अनुसार मंगलबार साँझदेखि नै सुदूरपश्चिमका विभिन्न जिल्लामा हल्का वर्षा सुरु भएको थियो। राति गएसँगै वर्षाको मात्रा र क्षेत्र दुवै बढ्दै गएको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुरामा मापन गरिएको छ, जहाँ २९.६ मिलिमिटर पानी परेको छ।
हाल सुदूरपश्चिममा वर्षा केही कम हुँदै गएको भए पनि कर्णाली र लुम्बिनी प्रदेशमा भने पानी पर्ने क्रम बढिरहेको मौसमविद्हरूले जनाएका छन्। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार वर्षा गराउने बादल छिटोछिटो पूर्वतिर सर्दै गएको छ, जसको प्रभावले पूर्वी पहाडी जिल्लासम्म वर्षा गराउने सम्भावना रहेको छ।
काठमाडौं उपत्यकामा पनि आज दिउँसोपछि हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। “काठमाडौंमा मध्याह्नपछि पानी पर्ने सम्भावना छ, तर सबैतिर समान रूपमा पर्ने छैन,” मौसमविद् पौडेलले बताए। उनका अनुसार आज काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना न्यून छ।
मधेश प्रदेश र पूर्वी तराईका झापा लगायत केही जिल्ला बाहेक देशका अधिकांश भूभागमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै मनाङ, मुस्ताङसहित पूर्वी पहाडी जिल्लाका हिमाली क्षेत्रमा मध्यम खालको हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
मौसमविद्हरूका अनुसार आज साँझपछि बादल क्रमशः हट्ने र मौसममा सुधार आउने अपेक्षा गरिएको छ।




