वाणिज्य विभागको बजार अनुगमन: १७ फर्ममाथि कारबाही र निर्देशन, एकलाई ५० हजार जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न स्थानमा रहेका १७ वटा उद्योग तथा फर्महरूमा अनुगमन निरीक्षण गरेको छ।
बजारमा उपभोक्ता अधिकार सुनिश्चित गर्न विभागले गरेको उक्त अनुगमनका क्रममा एक व्यावसायिक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ भने अन्य १६ वटालाई सामान्य निर्देशन दिइएको छ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौँ महानगरपालिका–४ मा रहेको काटर्स इन्टरप्राइजेज प्रालिले उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ विपरीत कार्य गरेको पाइएको छ। उक्त फर्मलाई ऐनको दफा २०(२) र ३८(ट) बमोजिमको कसुरमा दफा ३९(१)(घ) अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा विभागले अन्य १६ वटा फर्महरूलाई व्यावसायिक सुधारका लागि सामान्य निर्देशन दिएको छ। निर्देशन पाउनेहरूमा काठमाडौँ–४ का ग्लोबल म्याक्स ट्रेडिङ, क्लाईमेक्स ट्रेडिङ र लिकर वर्ल्ड रहेका छन्। त्यस्तै, काठमाडौँ–१६ का बोतल ब्रोस र शुभम् सुपर स्टोर, तथा गोकर्णेश्वर नगरपालिकाका कुशल फोटो स्टुडियो, शेर्पा स्टोर एण्ड सप्लायर्स र दर्शन स्टोर्स एण्ड सप्लायर्सलाई पनि विभागले निर्देशन दिएको छ।
यसै गरी, काठमाडौँ–७ को बुद्ध स्टोर, जडिबुटीको एस.टि. स्वीट एण्ड वेभरेज इन्टरप्राइजेज, सिनामंगलका संस्कार ट्रेडर्स, खत्री लिक्वयर र काठमाडौँ विनायक मार्टलाई पनि आवश्यक सुधारका लागि सचेत गराइएको छ। पशुपति लिक्वेयर स्टोर र सन्तोष शाह स्टोरलाई पनि विभागले सामान्य निर्देशन दिएको छ।
उपभोक्ता संरक्षण ऐन र नियमावलीको कार्यान्वयनलाई कडाइका साथ अघि बढाउने क्रममा विभागले नियमित रूपमा यस्तो अनुगमन गर्दै आएको छ। व्यावसायिक मर्यादा पालना नगर्ने र उपभोक्तालाई मर्कामा पार्ने फर्महरूमाथि आगामी दिनमा पनि कडा कारबाही गरिने विभागले उल्लेख गरेको छ।



