भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै
काठमाडौं । छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो ।
गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दैछ ।
समाचर एजेन्सी पीटीआईका अनुसार समारोहमा प्रदर्शन गरिने परेडमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का दौरान तैनाथ प्रमुख हथियार प्रणालीहरूको मोडल पनि समावेश हुने छ ।
युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमीशनका अध्यक्ष उर्सुला वान डेर लेयेन गणतन्त्र दिवस समारोहमा मख्य अतिथि रहने छन् ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको अगुवाइ गर्ने बताइएको छ । कार्यक्रम भारतीय समयअनुसार बिहान साढे १० बजे सुरू हुने र ९० मिनेटसम्म चल्ने छ ।
परेडको सुरूवात अघि झण्डै १०० सांस्कृतिक कलाकारले ‘विविधतामा एकता’ विषयमा प्रस्तुति दिने बीबीसीको हिन्दी अनलाइन संस्करणले उल्लेख गरेको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७७ औं गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत् देशवासीलाई बधाई दिएका छन् ।
उनले लेखेका छन्, ‘भारतको आन–बान र शानको प्रतीक यो राष्ट्रिय महापर्वले तपाईं सबैको जीवनमा नयाँ ऊर्जा र उत्साहको सञ्चार गरोस् । विकसित भारतको संकल्प अझै अधिक सुदृढ होस्, यही कामना छ ।’



