एभरेस्ट इङ्लिस स्कुलद्वारा ‘Best from the Waste’ प्रदर्शनी
भक्तपुर । “जाने मोहर, नजाने फोहर” भन्ने नेपाली उक्ति केवल भनाइमा सीमित नरही व्यवहारमा पनि उतार्न सकिन्छ भन्ने सन्देशका साथ भक्तपुर–२, मिबाछेंस्थित एभरेस्ट इङ्लिस स्कुलले प्रयोगविहीन सामग्रीबाट उपयोगी वस्तु निर्माणसम्बन्धी ‘Best from the Waste’ प्रदर्शनीको आयोजना गरेको छ। विद्यार्थीहरूको अन्तर्निहित कला, सीप र सिर्जनशील क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीले विद्यालय तहबाटै वातावरण संरक्षण, पुनः प्रयोग (Reuse) र स्रोतको सदुपयोगप्रति चेतना फैलाउने प्रयास गरेको छ।
आजको उपभोक्तावादी जीवनशैलीका कारण दैनिक रूपमा ठूलो मात्रामा फोहर उत्पादन भइरहेको सन्दर्भमा यस्ता प्रदर्शनीहरू समयसापेक्ष र आवश्यक भएको सरोकारवालाहरूको भनाइ छ। सामान्यतया प्रयोगविहीन ठानिने कागज, प्लास्टिक, बोतल, टिन, कपडा, काठ, तार तथा अन्य फालिएका सामग्रीहरूलाई सृजनात्मक ढंगले पुनः प्रयोग गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्न सकिने कुरा प्रदर्शनीमार्फत देखाइएको थियो।
उक्त प्रदर्शनीमा विद्यालयका बाल कक्षादेखि माध्यमिक तहसम्मका विद्यार्थी तथा शिक्षकहरूले संयुक्त रूपमा निर्माण गरेका विविध सामग्रीहरू प्रदर्शन गरिएको थियो। प्रदर्शनीमा फूलदानी, झोला, सजावट सामग्री, खेलौना, पेन स्ट्यान्ड, मोडल हाउस, वातावरणमैत्री सामग्री तथा कलात्मक सिर्जनाहरूले दर्शकहरूको ध्यान आकर्षित गरेका थिए। प्रत्येक सामग्रीसँग सम्बन्धित विद्यार्थीहरूले आफ्ना सिर्जनाको अवधारणा, प्रयोग गरिएको सामग्री र त्यसको उपयोगिताबारे जानकारीसमेत दिएका थिए।
प्रदर्शनीको उद्घाटन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल श्री भक्त राजभण्डारीले यस्ता सिर्जनात्मक गतिविधिहरूले विद्यार्थीहरूमा केवल शैक्षिक ज्ञान मात्र नभई व्यवहारिक सीप, समस्या समाधान गर्ने क्षमता र आत्मनिर्भर सोच विकास गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले फोहर ठानिने वस्तुहरू पनि सही सोच, योजना र सीप प्रयोग गरेमा उपयोगी तथा आयआर्जनको स्रोत बन्न सक्ने स्पष्ट पार्नुभयो।
“आज हामी फोहर भनेर फाल्ने वस्तुहरू भोलि नयाँ अवसर बन्न सक्छन्। बालबालिकाले सानै उमेरदेखि स्रोतको महत्व बुझ्नु, वातावरणप्रति जिम्मेवार बन्नु र सिर्जनात्मक सोच विकास गर्नु अत्यन्त आवश्यक छ,” उहाँले भन्नुभयो।
विद्यालयका अनुसार ‘Best from the Waste’ प्रदर्शनीले विद्यार्थीहरूमा वातावरण संरक्षणप्रति चेतना बढाउनुका साथै कम साधन र स्रोतको अधिकतम उपयोग गर्ने संस्कार विकास गर्ने लक्ष्य राखिएको छ। साथै यस्ता कार्यक्रमहरूले अभिभावक र समुदायमा पनि फोहर व्यवस्थापन तथा पुनः प्रयोगको महत्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
शिक्षकहरूको भनाइमा यस प्रकारका सह–पाठ्यक्रम गतिविधिले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्नुका साथै विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुति कला र सहकार्यको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ। विद्यार्थीहरूले पनि आफूहरूले बनाएका सामग्रीप्रति गर्व महसुस गरेको र भविष्यमा यस्ता सिर्जनात्मक कार्यलाई निरन्तरता दिन चाहेको प्रतिक्रिया दिएका थिए।
प्रदर्शनी अवलोकन गर्न आएका अभिभावक तथा आगन्तुकहरूले विद्यालयको पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूका अनुसार यस्ता प्रदर्शनीहरूले बालबालिकालाई जिम्मेवार नागरिक बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्दछन्।



