राप्रपा उम्मेदवार विक्रम थापाको समर्थनमा माघ १० गते काठमाडौँमा बृहत् चुनावी र्याली
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार अधिवक्ता विक्रम थापाको समर्थनमा यही माघ १० गते, शनिबार, दिउँसो ३ :३० बजे कोशलटारस्थित कुशल भैरब मन्दिर मन्दिर परिसरबाट बृहत् चुनावी र्याली तथा प्रेस मिट कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमको सुरुआत कुशल भैरब मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गरी गरिनेछ। त्यसपछि मन्दिरदेखि पार्टीको चुनाव प्रचार–प्रसार समन्वय कार्यालय, गठाघरसम्म उम्मेदवार अधिवक्ता विक्रम थापालाई धिमे बाजासहितको बृहत् र्याली निकालिने आयोजकले जानकारी दिएका छन्।
उक्त र्यालीमार्फत् राप्रपाले आफ्ना मूल राजनीतिक सिद्धान्त र एजेण्डालाई जनतामाझ पुर्याउने लक्ष्य लिएको छ। राप्रपाले राजसंस्थासहितको हिन्दू राष्ट्र, संघीयता खारेज, र बलियो स्थानीय सरकारको अवधारणालाई आफ्नो मुख्य राजनीतिक दर्शनका रूपमा अघि सारेको छ। पार्टीको भनाइ अनुसार यी एजेण्डाहरू राष्ट्रिय एकता, सांस्कृतिक पहिचान, धर्म, परम्परा र सुशासनलाई संरक्षण गर्दै देशलाई स्थायित्वतर्फ लैजान अपरिहार्य रहेका छन्। कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै अधिवक्ता विक्रम थापाले वर्तमान राजनीतिक अवस्थाप्रति पार्टीको धारणा, संविधान सुधारको आवश्यकता, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय स्वाधीनता, आर्थिक आत्मनिर्भरता, रोजगारी सिर्जना तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने विषयमा आफ्नो स्पष्ट दृष्टिकोण राख्ने जनाइएको छ। त्यसैगरी, कार्यक्रममा सञ्चारकर्मीहरूका लागि प्रेस मिट समेत आयोजना गरिनेछ। सो अवसरमा उम्मेदवार थापाले पार्टीको नीति तथा कार्यक्रम, निर्वाचनका प्रमुख मुद्दा तथा जनताका चासोका विषयमा पत्रकारहरूसँग प्रत्यक्ष संवाद गर्नेछन्।
कार्यक्रमका आयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी, वडा नं। ३ का समर्थकहरू रहेका छन्। आयोजक पक्षका अनुसार यो कार्यक्रमले स्थानीय स्तरमा पार्टीको जनाधार बलियो बनाउँदै जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ। आयोजकले स्थानीयवासी, समर्थक, शुभेच्छुक तथा सञ्चारकर्मीहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गरेका छन्।



