महिला टी– २० विश्वकप छनोट: पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । नाथकन चन्थमको अर्धशतकमा थाइल्यान्डले आईसीसी महिला टी– २० विश्वकप ग्लोबल क्वालिफायरको पहिलो खेलमा घरेलु टोली नेपालविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
थाइल्यान्डका लागि चन्थमले ३९ बलमा ९ चौका र १ छक्काको मद्दतले अविजित ५७ रनको योगदान गरिन् । यसैगरी नान्नापत कोन्चारोएनकाईले ३२ र अपिसरा सुवान्चोरथीले २८ रन बनाए ।
नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि विन्दु रावलले ४४, सम्झना खड्काले २६ र उपकप्तान पूजा महतोले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
थाइल्यान्डका लागि थिपाचा पुथावोङले ४, ओनिचा कामचोम्फुले ४ तथा चनिदा सुथिरुआङ, सुलीपोर्न लाओमी र सुनिदा चतुरंगरत्नले १–१ विकेट लिए ।
अब नेपालले बिहीबार नेदरल्यान्ड्सको सामना गर्नेछ । थाइल्यान्डले मंगलबार नेदरल्यान्ड्ससँगै प्रतिस्पर्धा गर्नेछ ।




