विशेष महाधिवेशनबारे गगनले गरे बुद्धिजीवीसँग छलफल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।
उनले विभिन्न पेसा, व्यवसायमा आबद्ध बुद्धिजीवीसँग बुधबार काठमाडौंको एक होटलमा छलफल गरेका हुन् । छलफलमा गगनसँगै केन्द्रीय सदस्य प्रदीप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसे समेत सहभागी छन् ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले बुधबार दिउँसो अनामनगरमा पत्रकार सम्मेलन गर्दै गर्दा गगन बुद्धिजीवीसँगको छलफलमा जुटेका हुन् ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनानुकूल बनाउन, समसामयिक नीति निर्माण तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टीको पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य रहेको बताएका छन् ।
पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम २,४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको नेताहरूले बताएका छन् ।
‘विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि छैन । यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो । विधानको यो व्यवस्थालाई कार्यान्वयन गर्नु हामी सबैको साझा कर्तव्य र जिम्मेवारी हो’, विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूले तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।


