अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रपति मादुरो अमेरिका पुर्याइएको दाबी
काठमाडौं । भेनेजुएलामा गरिएको अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी संयुक्त राज्य अमेरिका लगिएको दाबीले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो हलचल मच्चाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत भेनेजुएलामा सञ्चालन गरिएको अमेरिकी सैन्य अपरेसन सफल भएको दाबी गर्दै मादुरोलाई नियन्त्रणमा लिई अमेरिका ल्याइएको बताएका हुन्। ट्रम्पले सार्वजनिक गरेको तस्बिरमा मादुरो अमेरिकी नौसैनिक जहाजमा सवार रहेको देखाइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी र एएफपीका अनुसार अमेरिकी आक्रमणपछि बेपत्ता रहेका मादुरोलाई न्युयोर्क पुर्याइएको छ। अमेरिकी पक्षका अनुसार उनलाई न्युयोर्कस्थित संघीय हिरासत केन्द्रमा राखिएको छ।
अमेरिकाले शनिबार बिहान राजधानी कराकाससहित भेनेजुएलाका विभिन्न रणनीतिक स्थानमा हवाई आक्रमण र विशेष सैन्य कारबाही सञ्चालन गरेको थियो। आक्रमणका क्रममा राजधानी क्षेत्रमा ठूला विस्फोटका आवाज सुनिएको, विद्युत् सेवा अवरुद्ध भएको र जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी न्याय विभागका अनुसार मादुरो र उनकी पत्नीमाथि नार्को–आतङ्कवाद, लागूऔषध तस्करी र संगठित अपराधसम्बन्धी गम्भीर अभियोग लगाइएको छ। मादुरोमाथि यसअघि सन् २०२० मै अमेरिकी अदालतमा कोकिन तस्करीसँग सम्बन्धित मुद्दा दर्ता भइसकेको थियो।
राष्ट्रपति ट्रम्पले मादुरोलाई अमेरिका ल्याइनुलाई “न्यायको विजय” भन्दै अन्य संलग्नहरूलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्। अमेरिकी प्रशासनले यो कारबाही अन्तर्राष्ट्रिय अपराधविरुद्धको कदम भएको दाबी गरेको छ।
यता, भेनेजुएलाका सरकारी अधिकारीहरूले अमेरिकी कारबाहीलाई अवैध सैन्य हस्तक्षेप र राष्ट्राध्यक्षमाथिको अपहरणको संज्ञा दिएका छन्। उपराष्ट्रपति डेल्सी रोड्रिगेजसहितका वरिष्ठ अधिकारीहरूले मादुरो अझै देशका वैध राष्ट्रपति भएको दाबी गर्दै उनको अवस्थाबारे प्रमाण सार्वजनिक गर्न अमेरिकासँग माग गरेका छन्।
अन्तर्राष्ट्रिय समुदाय पनि यस घटनामा विभाजित देखिएको छ। केही देशहरूले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघीय बडापत्रको उल्लंघन भनेका छन् भने केहीले गम्भीर अपराधका आरोप लागेका नेतामाथि गरिएको कानुनी कारबाहीका रूपमा समर्थन जनाएका छन्। यस विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन मागसमेत उठेको छ।
यस घटनापछि भेनेजुएलाको राजनीतिक भविष्य र क्षेत्रीय स्थिरताबारे विश्वव्यापी चासो तीव्र रूपमा बढेको छ।


