शैक्षिक परामर्श क्षेत्र : वर्तमान यथार्थ र इक्यानको नयाँ नेतृत्वसँग अपेक्षा
शिशिर सिंखडा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, उत्तरदायी, पारदर्शी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल व्यवस्थित गर्ने उद्देश्यसहित स्थापित एक अग्रणी र छाता संस्था हो । विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने नेपाली विद्यार्थीलाई सत्य, विश्वसनीय र नैतिक परामर्श प्रदान गर्दै उनीहरूको शैक्षिक यात्रालाई सुरक्षित, व्यवस्थित र सफल बनाउनु इक्यानको केन्द्रीय ध्येय हो ।
तर, इक्यानको नयाँ नेतृत्व चयनको निर्णायक मोडमा उभिएको आजको सन्दर्भमा यसको भूमिका, उपलब्धि र प्रभावकारिताको वस्तुनिष्ठ मूल्याङ्कन गर्नु अपरिहार्य भएको छ । संस्था जति ठूलो हुन्छ, त्यसप्रतिको उत्तरदायित्व पनि त्यति नै गहिरो हुन्छ । दुर्भाग्यवश, पछिल्ला केही वर्षयता इक्यानप्रति सदस्यहरू, सरोकारवाला र समाजमा उठिरहेका प्रश्नहरूले आत्मसमीक्षाको आवश्यकता झनै गहिरो बनाएका छन् ।
इक्यानको संस्थागत सामर्थ्य र वर्तमान संकट
शैक्षिक परामर्श व्यवसायीहरूको संगठनहरूमध्ये इक्यान यस्तो संस्था हो, जसले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय तहसम्म प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता राख्छ । देशभर क्रियाशील सात–आठ सयभन्दा बढी शैक्षिक परामर्श संस्थालाई समेट्ने यो संस्था समावेशी प्रतिनिधित्व, सामूहिक नेतृत्व र संस्थागत सुदृढीकरणको उदाहरण बन्न सक्थ्यो ।
तर यथार्थ के छ भने—राजनीतिक अस्थिरता, नीतिगत अन्योल, संगठनभित्रको गुटबन्दी, कमजोर अनुशासन र नेतृत्वको स्पष्ट दृष्टिकोणको अभावले इक्यानको गरिमा र विश्वसनीयतामा गम्भीर क्षति पुगेको छ । यो दुःखद त छँदै छ, तर अझ खतरनाक कुरा के हो भने—यो यथार्थ हो ।
इक्यानको उद्देश्य र दायित्व : कागजमा होइन, व्यवहारमा
इक्यानको दायित्व केवल शैक्षिक परामर्श व्यवसायलाई नियमबद्ध र व्यवस्थित बनाउनुमा सीमित छैन । प्रत्येक सदस्यको व्यवसायिक हक–अधिकार संरक्षण, पेशागत सम्मानको सुनिश्चितता, विद्यार्थी–केन्द्रित सेवा संस्कृति र नैतिक व्यवसायिक मान्यताको संस्थागत विकास इक्यानको मूल जिम्मेवारी हो ।
राज्यद्वारा निर्माण गरिने ऐन, नियम र निर्देशिकाहरू विद्यार्थी र व्यवसायी दुवैको हितमा होउन् भन्ने सुनिश्चितताका लागि प्रभावकारी नीतिगत पैरवी गर्नु, अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग सहकार्य विस्तार गर्दै नेपाली विद्यार्थीका लागि गुणस्तरीय अध्ययन अवसरहरू सुनिश्चित गर्नु पनि इक्यानको अभिन्न दायित्व हो ।
तर आज प्रश्न उठिरहेको छ—किन इक्यानको साख खस्कँदै छ ? किन इक्यानका सदस्यहरू निराश छन् ? किन इक्यानले सदस्यहरूको व्यवसायिक हित, अन्तर्राष्ट्रिय पहुँच र प्रतिष्ठा सुदृढ गर्न सकिरहेको छैन ? पुष २८ गते हुने निर्वाचनअघि यी प्रश्नहरूको उत्तर खोज्नु हरेक इक्यान सदस्यको नैतिक जिम्मेवारी हो ।
आँखाबाट नदेख्ने हो भने भविष्य अन्धकार छ
आज शैक्षिक परामर्श क्षेत्र गम्भीर संरचनात्मक संकटको सामना गरिरहेको छ । देशभर बिना मापदण्ड, बिना अनुमति हजारौं अवैध कन्सल्टेन्सी सञ्चालनमा छन् । यसले अनैतिक प्रतिस्पर्धा, गलत सूचना प्रवाह, विद्यार्थी शोषण र सेवामूलक क्षेत्रलाई नाफामुखी उद्योगमा रूपान्तरण गर्ने खतरनाक प्रवृत्ति जन्माएको छ ।
केही व्यक्तिका गलत क्रियाकलापका कारण सम्पूर्ण मर्यादित व्यवसायी बदनाम हुनु गम्भीर अन्याय हो । ‘दलाल’, ‘मानव तस्कर’ जस्ता आरोपहरू सार्वजनिक रूपमा लगाइँदा इक्यानको नेतृत्व मूकदर्शक बन्नु नेतृत्वको असफलता हो—र यस्ता व्यक्तिहरूले नेतृत्व नलिएकै बेस ।
समाधान र अबको बाटो : भावनाबाट होइन, संस्थागत कठोरताबाट
अब आउने इक्यान नेतृत्वले भावनात्मक भाषण होइन, संस्थागत निर्णय र व्यवहारिक कार्यान्वयनमार्फत नेतृत्व प्रमाणित गर्नुपर्छ । अवैध कन्सल्टेन्सी नियन्त्रणका लागि राज्यसँग संयुक्त अनुगमन, स्पष्ट मापदण्ड, एकद्वार सदस्यता प्रणाली र कडाइका साथ नियम कार्यान्वयन अपरिहार्य छ ।
शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानी आवश्यक छैन भन्ने विषयमा इक्यानको स्पष्ट, संस्थागत र दृढ धारणा आउनैपर्छ । विदेशी लगानीले स्वदेशी पुँजी, साना तथा मध्यम कन्सल्टेन्सी विस्थापित गर्ने, नाफा विदेश पलायन हुने र शुल्क अस्वाभाविक रूपमा बढ्ने जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन ।
निर्वाचन : पदको होइन, दिशाको छनोट
इक्यानको आगामी निर्वाचन पदका लागि हुने प्रतिस्पर्धा मात्र होइन—सम्पूर्ण उद्योगको दिशा र भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसर हो । एजेन्डाविहीन निर्वाचन भनेको दृष्टिविहीन नेतृत्व हो । रणनीतिविहीन नेतृत्व भनेको असुरक्षित सदस्य र नियमनविहीन बजार हो ।
आज विदेश अध्ययन क्षेत्र तीव्र प्रतिस्पर्धा, डिजिटल भ्रम, अवैध कन्सल्टेन्सी र अन्तर्राष्ट्रिय नीतिगत दबाबको जटिल मोडमा उभिएको छ । यस्तो अवस्थामा लोकप्रिय भाषण होइन, तथ्य, दस्तावेज र परिणाम दिन सक्ने नेतृत्व आवश्यक छ ।
निष्कर्ष : इक्यान केवल संस्था होइन, भरोसाको संरक्षक हो
शैक्षिक परामर्श उद्योग नेपालको अर्थतन्त्र, मानव स्रोत विकास र अन्तर्राष्ट्रिय छविसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र हो । यसलाई ‘दलाल’ को दृष्टिले हेर्नु राज्य र समाज दुवैको भूल हो । इक्यान केवल व्यवसायीको संस्था होइन—यो विद्यार्थीको सुरक्षित भविष्य, अभिभावकको भरोसा र नेपालको शैक्षिक विश्वसनीयताको संरक्षक हो । अब इक्यानले भावनामा होइन, तथ्यमा बोल्नुपर्छ; आश्वासनमा होइन, परिणाममा देखिनुपर्छ ।
अन्ततः, जसले जिते पनि—
इक्यानले जितोस्, उद्योगले जितोस्, देश र समाजले जितोस् ।
यही नै साँचो अर्थमा शुभकामना हो ।
लेखक: शिशिर सिंखडा, संस्थापक निर्देशक, क्याम्ब्रिज


