सुत्केरी पनि नछोड्ने मिटरब्याजी गजेन्द्र मास्केको यस्तो छ, लुटको साम्राज्य
काठमाडौं। काठमाडौंको नागर्जुन नगरपालिका वडा नम्बर ६, टौखेलस्थित एक कोलोनीमा बसोबास गर्दै आएका कुख्यात मिटरव्याजी गजेन्द्र मास्केको अवैध धन्दाको मुकुण्डो छताछुल्ल हुँदै गएको छ। उपत्यकामा मिटरव्याजीका नाइके रूपमा चिनिने मास्केले बर्षौंदेखि चलाउदै आएको अवैध धन्दाले नेपालमै बसेर केही गरिखाने परिवारलाई घरबार विहीन बनाएको तथ्य बाहिरीएको छ। त्यस्तै अर्कातिर प्रहरी प्रशासन भने अबैध मिटरब्याज चलाइ सयौं घरपरिवारकाे उठिबास लगाउने मास्केविरूद्ध मौनदेखिनुले गम्भीर प्रश्न खडा गरेको छ।
उपत्यकाका मुख्य क्षेत्रमा नै खुलमखुल्ला अनुचित लेनदेन र मिटरव्याज जस्तो संगठित अपराध सञ्चालन गर्दै आएका मास्केलाई केही प्रहरी अधिकारीहरूले नै संरक्षण गरिरहेको आरोप लाग्दा यो विषय अहिले झन् पेचिलो बहसको विषय बनेको छ। शक्ति, सत्ता र प्रहरीको पहुँचमा हिँड्ने मास्केको धन्दा यति विस्तारित छकि उनको अपराधको संख्या गन्न नसकिने अवस्थामा पुगिसकेको छ।
मास्केको अनुचित लेनदेनको जालोमा फसेका नागर्जुनमा गाई फार्म सञ्चालक गरेर बसेका कुमार लामिछाने अहिले खास पीडित बनेका छन्। नेपालमै केही गर्ने इच्छा शक्ति जागेपछि सात समुन्द्र पारि कोरिया पुगेका दुइ भाइलाइ नेपाल बोलाएका लामिछानेले आफ्नो व्यापार व्यवसाय विस्तार गर्ने दृढ संकल्पका साथ अगाडि बढ्दै थिए। तर एकदिन अचानक मास्केसँग भेटघाट हुन्छ,अनि नेपालमै केही गर्नुपर्छ भनेर हुटहुटी बोकेका युवाले आफ्नो व्यवसायीक योजना सुनाउछन्,अनि मिटरव्याजी मास्के आफ्नो कर्तुहरू सहयोग गर्ने बहानामा त्यहीबाट सुरू गर्छन्। र लामिछनेलाइ आफ्नो व्यवसाय अझै राम्रो गर्ने उद्देश्यले मास्केसँग पचहत्तर लाख रुपैयाँ ऋण लिन्छन्। र मिटरव्याजी मास्केलाइ पटक पटक गरेर लामिछानेले करिब पाँच करोड भन्दाबढीको जग्गा,नगद र गर्हना गरेर दिन्छन्। तर त्यो ऋण जति तिरेपनि कहिले असुल हुँदैन थियो। र अन्तिम अवस्था आएपछि लामिछानेले अब दिन नसक्ने बताएपछि मास्केले बेइजेत गर्ने उद्देश्यले मिडिया देखि धम्की दिनेसम्मको काम गरेर असुली धन्दा चलाइ रहेने योजना बनाए पनि अन्तिममा मिटरव्याजी मास्के असफल भएका छन्।भने एक पटक मास्केको जालोमा फसेपछि त्यहाँबाट मुक्त हुनु लगभग असम्भव जस्तै हुने पीडितहरूले नै बताउने गरेका छन्।
चर्को ब्याजमा रकम उपलब्ध गराउने मास्केको वास्तविक उद्देश्य भने ऋणीको घरजग्गा हड्प्ने नै हो। पैसा चाहिने बेलामा सहयोगको नाममा जालमा फसाएर ऋणीलाई जीवनभर दासत्वमा राख्ने मास्केको उद्देश्य नै रहेको बुझिन्छ। लिएको भन्दा दशौंगुणा बढी रकम तिरिसकेपछि पनि ऋणबाट मुक्त हुन नसकेका थुप्रै पीडितको रोदन हेर्दा मास्के कस्तो खालको मिटरव्यजी हुन भन्ने यहीबाट स्पष्ट हुन्छ।
त्यसैगरी काष्ठमाण्डौंको रञ्जना गल्लीमा होलसेल कपडा व्यापार गर्दै आएका सन्तोष अधिकारीको परिवारमाथि भएको घटनाले राजधानीमै मिटरब्याज कति संस्थागत रूपमा फैलिएको छ भन्ने भयावह तस्वीर उजागर गरेको छ। अधिकारीकी धर्मपत्नीलाई सुत्केरी अवस्थामा चेक वाउन्सको बहानामा मास्केले प्रहरीको मिलेमतोमा थुनामा राखिएको घटनाले मानवता, कानुन र राज्य संयन्त्र सबैमाथि गम्भीर प्रश्न खडा गरेको छ।
मिटरब्याजी गजेन्द्र मास्केले ‘सहयोग’ को आवरणमा अधिकारी परिवारसँग चेक लिएका थिए। सुरुमा सहज रूपमा रकम उपलब्ध गराएर भरोसा दिलाउने मास्केले केही समयपछि आफ्नो असली रूप देखाउन थालेकाे स्राेतकाे दाबी छ। अत्यधिक ब्याज, दबाब र धम्कीमार्फत मास्केले अधिकारी परिवारलाई आर्थिक रूपमा पूर्ण गलाउने रणनीति अपनाए। सुत्केरी अवस्थामा रहेकी महिलालाई समेत थुनामा पुर्याइनु कुनै व्यक्तिगत प्रतिशोध मात्र नभई, राज्य संयन्त्रकै संरक्षणमा चलिरहेको मिटरब्याज धन्दाको चरम नमूना भएको पीडितहरूको दाबी छ।
मास्केको गतिविधि एउटै परिवारमा सीमित छैन। उनले नेपालमै केही गरौँ भन्ने युवाहरूलाई लक्षित गर्दै ‘सहयोगको नाटक गर्ने,चेक लिने र पछि अस्वाभाविक ब्याज असुली गर्ने अनि चेक पनि फिर्ता नदिने त्यही चेक वाउन्स गराएर पीडितहरूलाइ झन पीडा दिने काम गर्ने गरेकाे पीडितहरूले नै बताएका छन्। मास्केको जालमा परेका धेरै परिवार घरबारविहीन भएका छन् भने,कैयौँ युवाहरू मानसिक,आर्थिक र सामाजिक दबाबका कारण विदेशिन बाध्य भएका छन्।
मिटरब्याजका नाइके भनेर चिनिएका मास्केले ७५ लाख रुपैयाँ लगानी गरेर पाँच करोड रुपैयाँसम्म असुली गरिसक्दा पनि अझै सन्तुष्ट नभई थप लुटतन्त्र जारी राख्ने गरेकाे खुलासा पीडितले नै गरेका छन्। उनको यो ‘लुट साम्राज्य’ प्रहरीदेखि विभिन्न राजनीतिक दलका नेतासम्मको संरक्षणमा चल्ने गरेकाे आरोप पीडितहरूले लगाउने गरेका छन्। यही कारण उनीविरुद्ध उजुरी परे पनि कारबाही अघि नबढ्ने,उल्टै पीडितमाथि नै दबाब र दमन बढाउने गरेको पीडितले गुनासो गरेका छन्।
सुत्केरी महिलालाई थुनामा राख्ने जस्तो अमानवीय घटनाले मिटरब्याजविरुद्ध बनेका कानुन, सरकारी प्रतिबद्धता र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। यस्तो घटना राजधानीमै सम्भव छ भने देशका अन्य भागमा मिटरब्याजको पीडामा परेका सर्वसाधारणलाइ कति गह्राे हाेला भन्ने अनुमान गर्न खासै कठिन छैन। पीडित परिवारहरूले भने मिटरब्याजी मास्केको सम्पत्ति अख्तियार र सम्पत्ति शुद्धीकरणले छानबिन गरेर मास्केका गतिविधिमाथि निष्पक्ष छानबिन गरी कारबाही र मिटरब्याज पीडितलाई तत्काल न्याय दिन आवश्यक देखिन्छ।
अपराधीलाई पक्राउ गरी कानुनी कारबाहीमा ल्याउनुपर्ने जिम्मेवारी पाएका प्रहरी अधिकारीले नै यस्ता अपराधीलाई संरक्षण गरेर सर्वसाधारणकाे शान्ति सुरक्षा र जीउधनको रक्षा कसरी गर्छ हाेला भन्ने गम्भीर प्रश्न खडा भएको छ। यस्ता केही भ्रष्ट प्रहरीका कारणले अन्य स्वच्छ छवि भएका इमान्दार प्रहरीमाथि पनि प्रश्नचिन्ह खडा भएको छ।
आपराधिक लाभ तथा अनुचित लेनदेन गर्दै गुण्डा र असामाजिक तत्वको घेरामा हिँड्ने मास्केको जीवनशैली नै विवादास्पद छ। मास्के निकट स्रोतका अनुसार उनले प्रहरीका केही उच्च अधिकारीहरूको विशेष साथ पाउँदै आएका छन् र अधिकांश समय प्रहरी वृत्त स्वयम्भूमा बिताउने गरेको बताइएको छ। यो खुलासाले प्रहरी प्रशासनमाथि नै गम्भीर प्रश्न उठाएकाे छ।
मास्केले नेपाल प्रहरीकै सेटिङ र संरक्षणमा हजारौं परिवारलाई घरबार विहीन बनाएको समाचार यसअघि पटक पटक विभिन्न समाचार माध्यमबाट प्रकाशित भइसकेका छन्। तर कुनै कारबाही हुन सकेको छैन। काठमाडौंमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्दै दुःख गरेर बाँचिरहेका गरिब परिवारलाई घर न घाटको मात्रै होइन, जीवनभरको सपना समेत खोस्ने मास्केले करिब पन्ध्र जनाभन्दा बढी व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी निरन्तर दुःख दिइरहेको स्रोतले बताएको छ।
दिनदहाडै गुण्डागर्दी गर्दै गरिबको रगत चुसेर आफ्नो साम्राज्य खडा गर्ने मास्केले लुटिएको पैसाले नागर्जुन नगरपालिका वडा नम्बर ६ टौखेलस्थित विल्सन स्कूल नजिकै भव्य महल खडा गरेको स्रोतले दाबी गरेको छ। मास्के निकट स्रोतका अनुसार उनका राजधानीमा मात्रै आधा दर्जनभन्दा बढी आलिशान महल छन् भने जग्गा, गाडी घडेरी कति छन् त्यो उनी आफैंले पनि कागजात हेरेर मात्र गन्न सक्ने अवस्था छ।


