विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो, २१ महिनाको वस्तु आयात धान्ने
काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ७ महिना अवधिमै यस्तो सञ्चिति २३.३ प्रतिशतले बढेको हो ।
असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर रहेको सञ्चिति रकम माघ मसान्तसम्म आउँदा ३३ खर्ब २ अर्ब रुपैयाँ बराबर पुगेको हो । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गरेको हो ।
विवरणअनुसार सोही सात महिना अवधिमा अमेरिकी डलरमा मुद्रा सञ्चिति १६.७ प्रतिशतले बढेर माघ मसान्तसम्म २२ अर्ब ७६ करोड डलर बराबर छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २९ खर्ब २६ अर्ब ९९ करोड छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ बराबर छ ।
हाल रहेको मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । हालको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।




