जगदम्बा स्टील्स लि. को श्रमिक युनियनले गरेको क्रियाकलाप सम्बन्धमा गम्भिर ध्यानाकर्षण
काठमाडौं । जगदम्बा स्टील्स लि ले गत मंसिर ८ गते श्रमिक युनियनले श्रमिकहरूले प्राप्त गर्ने बोनसको विषयमा गरेको पत्रकार सम्मेलन र सो मा उठाइएका उद्योगको आन्तरिक विषयवस्तु र मिडियामा प्रसारित समाचारका विषयमा गम्भीर ध्यानाकर्षण बताएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस्तो जानकारी दिएको हो ।
युनियनका पदाधिकारीहरूले प्रचलित बोनश ऐन, नियम बमोजिम आफूले प्राप्त गर्ने बोनश रकम नबुझी मनोमानी ढङ्गले बोनश रकम माग गर्ने र माग गरे बमोजिमको रकम प्राप्त नहुँदा व्यवस्थापनमा कार्यरत व्यक्तिहरूलाई धाकधम्की दिई उद्योग परिसरमा उपस्थित हुन असहज वातावरण सृजना गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफू कार्यरत उद्योगको अहित हुने गरी मनगढन्ते र तथ्यहिन कुरा गरी पत्रकार सम्मेलन गर्नुको साथै उद्योग, कर्मचारी र श्रमिकहरूसँग असम्बन्धित व्यक्तिहरूलाई उपस्थित गराई उद्योगको विरुद्धमा गलत सन्देश प्रवाह गरेको आरोप लगाएको छ ।
कम्पनीका अनुसार उद्योग र उद्योगमा कार्यरत श्रमिकहरूको बिचमा बोनश वितरणको सम्बन्धमा विवाद भई प्रचलित कानुन बमोजिम बोनश वितरण गर्न सहजीकरण गरिदिनको लागि श्रम कार्यालय वीरगन्ज पर्सालाई समेत अनुरोध गरिएको थियो ।
विज्ञप्तिमा उल्लेख छ ‘बोनश ऐन विपरीत गैरकानुनी रूपमा माग गरिएको रकम मिति २०८२/०६/०५ भित्रमा नदिए बन्दहड्ताल गर्न सक्छौँ भनी अल्टिमेटम दिएको हुँदा न्यायिक निकासका लागि अदालतको शरणमा जान बाध्य भयौँ । सो सम्बन्धमा सम्मानित अदालतबाट विवाद निरूपण समेत भइसकेको छ । सो फैसलामा चित्त नबुझे कानुनी उपचार खोज्नु पर्नेमा पुनः बोनसको बहानामा कारखानाको आधिकारिक ट्रेड युनियनले कारखाना बन्दगर्ने धम्किदिने, पत्रकार सम्मेलन गर्ने, सामाजिक सञ्जाल मार्फत धाकधम्कियुक्त सामाग्री सम्प्रेषण गरी दबाब दिने जस्ता गैरजिम्मेवार कार्य गर्दै आएका छन् ।’
साथै प्रचलित ऐन, नियम बमोजिम कर्मचारी तथा श्रमिकहरूलाई बोनश उपलब्ध गराउन तयार हुँदा समेत बोनश ऐनको बर्खिलाप हुनेगरि उनीहरूले बोनश रकम माग गरेको र उक्त रकम नदिए हुलास स्टील उद्योग, त्रिवेणी स्पिनिङ उद्योग र भगवती स्टील इण्डष्ट्रिज उद्योगमा श्रमिक युनियनले उद्योगका पदाधिकारीहरूलाई गरेको दुर्व्यवहार जस्तै यस उद्योगमा पनि सोही किसिमको व्यवहार गरिने धाकधम्की दिँदै आएको बताइएको छ ।
भदौँँ २९ गते सोही किसिमको व्यवहार समेत गरेको हुँदा उद्योग व्यवस्थापन पक्ष विगत ३ महिना देही उद्योग परिसरमा उपस्थित नभएको र अन्ततः अझपनि कम्पनी बोनस ऐन, २०३० बमोजिम नियमानुसार बोनस वितरण गर्न तयार रहेको कम्पनीले जानकारी दिएको छ ।


