रिगिड पेभमेन्टसम्बन्धी डिजाइन तथा निर्माण तालिम पोखरामा सम्पन्न
काठमाडाै । सिमेन्ट उत्पादक संघ नेपालको आयोजनामा तथा आईपीटीएम नेपालद्वारा सहजीकरण गरिएको “डिजाइन एण्ड कन्सक्ट्रक्सन अफ रिगिड पेभमेन्ट” विषयक तालिम होटल ल्याण्डमार्क, लेकसाइड, पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ।
बिहान ९:०० बजेदेखि १०:४५ बजेसम्म उद्घाटन सत्र सञ्चालन भएको थियो। उद्घाटन सत्रको सञ्चालन ई. चुमन बाबु श्रेष्ठले गरेका थिए भने सत्रको अध्यक्षता सिमेन्ट उत्पादक संघ नेपालका अध्यक्ष रघु नन्दन मारुले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा माछापुच्छ्रे गाउँपालिका, कास्कीकी उपाध्यक्ष श्रीमती सीता अधिकारीको गरिमामय उपस्थिति रहेको थियो।
विशिष्ट अतिथिहरूमा ई. नरेन्द्र सुवेदी, सुपरिन्टेन्डेन्ट इन्जिनियर, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पोखरा तथा ई. रामकुमार श्रेष्ठ, वरिष्ठ डिभिजनल इन्जिनियर, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सहभागी थिए ।
कार्यक्रमको सुरुवात सिमेन्ट उत्पादक संघ नेपालका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक ई. ध्रुव थापाको स्वागत मन्तव्यबाट गरिएको थियो। मन्तव्यको क्रममा उहाँले नेपालमा कङ्क्रिट पक्की निर्माणका लागि उपयुक्त कम लागतको कङ्क्रिट पेभर प्रविधि सम्बन्धी छोटो भिडियो प्रस्तुति प्रस्तुत गरे । त्यसपछि तालिम सहजकर्ता ई. अर्जुन जंग थापाले “रिगिड पेभमेन्ट को परिचय तथा नेपालमा यसको सान्दर्भिकता” विषयमा प्राविधिक अभिमुखीकरण प्रस्तुति दिए।
प्रस्तुतिमा सिमेन्ट कङ्क्रिटबाट निर्माण गरिने रिगिड पेभमेन्टले ट्राफिकको भारलाई स्ल्याबमार्फत फराकिलो क्षेत्रफलमा वितरण गर्ने भएकाले कमजोर सबग्रेड, भारी सवारी साधन, पानी जम्ने तथा चुहावट हुने क्षेत्रमा समेत प्रभावकारी हुने तथ्य उजागर गरिएको थियो।
नेपालको भौगोलिक विविधता, बढी वर्षा, बढ्दो सवारी चाप तथा बिटुमिनस सडकको उच्च मर्मत लागतका कारण नेपालमा रिगिड पेभमेन्टको प्रयोग झनै सान्दर्भिक बन्दै गएको उल्लेख गरियो। यद्यपि प्रारम्भिक लागत बढी भए पनि लामो आयु (२५–३० वर्षभन्दा बढी) र न्यून मर्मत खर्चका कारण यसको जीवनचक्र लागत कम हुने भएकाले यो दीगो तथा आर्थिक रूपमा लाभदायी विकल्प रहेको प्रस्तुतीकरणमा जोड दिइयो।
विशेष मन्तव्य दिँदै ई. नरेन्द्र सुवेदीले इन्जिनियर तथा सब–इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम आयोजना गरेकोमा सीएमएलाई धन्यवाद ज्ञापन गरे । उनले तालिममा चर्चा गरिनुपर्ने केहि विषयवस्तुको बारेमा उल्लेख गर्दै नेपालको सिमेन्ट उद्योग आत्मनिर्भर भई भारतसम्म सिमेन्ट निर्यात हुन थालेकोमा खुशी ब्यक्त गरे र तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गरी गुणस्तरीय र दीगो सडक निर्माणमा योगदान पुग्ने अपेक्षा व्यक्त गरे ।
त्यसैगरी प्रमुख अतिथि सीता अधिकारीले सरकारी निर्माण ठेक्कामा न्यूनतम दरमा ठेक्का दिने प्रचलनका कारण निर्माण कार्यको गुणस्तरमा नकारात्मक असर परेको धारणा व्यक्त गरिन् । गाउँपालिकाको सुपरिवेक्षण टोलीको फोकल पर्सनको रूपमा कार्यरत रहँदा तालिमले डिजाइन, निर्माण प्रक्रिया र गुणस्तर नियन्त्रणको महत्त्वबारे आफ्नो दृष्टिकोण अझ स्पष्ट भएको उनको भनाइ थियो। स्थानीय तहका लागि यस्ता क्षमता अभिवृद्धि कार्यक्रम अत्यन्त आवश्यक रहेकोमा उनले जोड दिइन् ।

