पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सय भन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पाँचखालमा निशुल्क स्वास्थ्य शिविर तथा मनोसामाजिक मनोपरामर्श शिविर सम्पन्न भएको छ । पुस्तान्तरण नेपालको आयोजनामा पाँचखाल नगरपालीका र आर्थिक विकास मित्र ऋण सहकारी संस्थासंगको समन्वयमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित नगरपालिकाको कार्यालय पाँचखालमा बिहान १० बजेदेखि ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा ७५ वर्ष भन्दामाथिका एकसय जना भन्दा धेरै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, मनोसामाजिक मनोपरामर्श र औषधी लिएर लाभ लिनुभयो । स्वास्थ्य जाँचका क्रममा धेरै जना जेष्ठ नागरिकमा उच्च रक्तचापजस्ता रोगहरु रहेको चिकित्सकहरुले बताउनुभयो ।
शिविरमा डा संकल्प केसी, डा अनिल पोखरेललगायतले स्वास्थ्य जाँच तथा परामर्श दिुनभएको थियो ।
पुस्तान्तरण नेपाल नेपालका ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा प्रदान गर्ने संस्था हो । काठमाडौं उपत्यकाबाहिर पुस्तान्तरण नेपालको यो पहिलो स्वास्थ्य शिविर हो । यसअघि संस्थाले गत वैशाख १३ गते काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा ९ स्थित सुन्दरबस्तीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा ६० वर्ष भन्दामाथिका ६० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्दै लाभ लिनुभएको थियो । त्यसैगरी कीर्तिपुर नगरपालिकाको वडा नं ६ चारघरेमा कात्तिक २९ गते भएको शिविरमा १०० जना जेष्ठ नागरिकले सेवा लिनुभएको थियो । पुस्तान्तरण नेपालले काठमाडौंको शंखपार्क, ललितपुरको युएनपार्क र बुढानिलकण्ठको बुढानिलकण्ठ मन्दिर परिसरमा पनि यस्तो शिविर सम्पन्न गरिसकेको छ ।
सम्मानित बुढ्यौली निर्माणको लागि कार्यरत संस्थाले ज्येष्ठ नागरिकका लागि यातायात, स्वास्थ्य, मनोरञ्जन तथा दिवा सेवा प्रदान गरिरहेको छ । भविष्यमा ज्येष्ठ नागरिकको सहज जीवनयापनको लागि ज्येष्ठ नागरिक भिलेजसमेत स्थापना गर्ने लक्ष्य राखेको छ । पुस्तान्तरण नेपालका सदस्य तथा उनीहरुका परिवारले पुस्तान्तरण नेपालसँग सम्झौता भएका अस्पतालमा सेवा प्राप्त गर्नको लागि छुट पाउनुका साथै झण्झटरहित सेवा प्राप्त गर्नुहुनेछ ।

