राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी
काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी रणनीति विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आज राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
समझदारी पत्रमा राष्ट्र बैंकका तर्फबाट गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र आईएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गर्नुभएको हो। सम्झौताअनुसार नेपालमा जलवायु वित्तको विकासका लागि आईएफसीले नेपाल राष्ट्र बैंकलाई प्राविधिक सहायता प्रदान गर्नेछ।
उक्त परियोजनाअन्तर्गत नेपालका लागि जलवायु वित्तसम्बन्धी समग्र रणनीति र यसको मार्गचित्र (रोडम्याप) को मस्यौदा तयार गरिनेछ। साथै, रणनीतिलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्न आवश्यक ढाँचा समेत विकास गरिने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा जलवायु वित्त रणनीति तर्जुमा तथा कार्यान्वयनसँग सम्बन्धित विषयमा राष्ट्र बैंक र समग्र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्न आईएफसीले विभिन्न तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्नेछ।
सम्झौताअनुसार सञ्चालन हुने परियोजनाले नेपालमा जलवायुसँग सम्बन्धित वित्तीय जोखिम पहिचान तथा न्यूनीकरण गर्न सहयोग पुर्याउनुका साथै जलवायु अनुकूलन र न्यूनीकरणका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। उक्त परियोजना सन् २०२८ को सेप्टेम्बरसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा डेपुटी गभर्नर मिश्रले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणका लागि राष्ट्र बैंक र आईएफसीबीच विगतदेखि नै सहकार्य हुँदै आएको उल्लेख गर्दै नयाँ समझदारीले नेपालमा जलवायु वित्तको नीतिगत विकास र प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी, आईएफसीका व्यवस्थापक ग्रेगरी स्मिथले राष्ट्र बैंकसँगको सहकार्यबाट नेपालमा जलवायु वित्तलाई संस्थागत रूपमा अघि बढाउँदै रणनीतिक तथा परिणाममुखी उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

