माछापुच्छ्रे बैंक “पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स” मा सहभागी
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले हरितगृह ग्यास उत्सर्जन मापन, मूल्यांकन तथा कमीका लागि विश्वभर सक्रिय संस्थाको रूपमा परिचित ‘पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’ (PCAF) मा औपचारिक रूपमा सहभागिता जनाएको छ। वित्तीय क्षेत्रका संस्थाहरूको लगानी तथा ऋण पोर्टफोलियोबाट उत्पन्न हुने कार्बन उत्सर्जनको मापनमा एकीकृत वैश्विक अभ्यास विकास गर्ने काममा रहेको PCAF मा सहभागी भएसँगै बैंकले आफ्नो जलवायु जिम्मेवारीलाई अझ सुदृढ पारेको जनाएको छ।
हाल विश्वका विभिन्न देशका ६०० भन्दा बढी वित्तीय संस्था PCAF सँग आवद्ध छन्। यस साझेदारीमार्फत कार्बन उत्सर्जन मापन तथा प्रतिवेदनका लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड प्रयोग गरिन्छ, जसले वित्तीय संस्थालाई भरपर्दो जलवायु रणनीति निर्माण गर्न सहयोग पुर्याउँछ।
माछापुच्छ्रे बैंकले पनि वातावरणीय प्रभावका बारेमा बढ्दो चिन्तालाई मध्यनजर गर्दै आफ्नो वित्तीय क्रियाकलापबाट हुने उत्सर्जन पहिचान र व्यवस्थापनमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएको छ। बैंकले PCAF मा सहभागी भएलगत्तै वातावरणीय उत्तरदायित्वलाई दीर्घकालीन रणनीतिमा समेट्ने कामलाई तीव्रता दिने उल्लेख गरेको छ।
बैंकका अनुसार कार्बन उत्सर्जन सम्बन्धी विश्वसनीय तथ्यांकका आधारमा जलवायु जोखिम विश्लेषण, ऊर्जा–कुशल परियोजनामा लगानी प्रवर्द्धन र वातावरणमैत्री बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाइनेछ। साथै, नेपालले लिएको कम–कार्बन उत्सर्जन तथा जलवायु–लचकदार अर्थतन्त्र निर्माणको यात्रामा पनि यस कदमले सहयोग गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।




