नेपाल उद्योग परिसंघ र सामाजिक सुरक्षा कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी
काठमाडौँ । नेपाल उद्योग परिसंघ र सामाजिक सुरक्षा कोषबीच श्रमिकको सामाजिक सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्न तथा श्रमिकलाई योजनामा आवद्ध गराउन सहयोग गर्ने उद्देश्यसहित सोमबार सिएनआई सचिवालयमा आयोजित ‘सामाजिक सुरक्षा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’मा उक्त समझदारी सम्पन्न भएको हो।
समझदारी अनुसार, नेपाल उद्योग परिसंघले आफ्ना सदस्य उद्योगहरूलाई सामाजिक सुरक्षा योजनामा जोड्न सहयोग गर्ने, देशभर सचेतना कार्यक्रम सञ्चालन गर्ने, आवश्यक जानकारी उपलब्ध गराउने र श्रमिकका दीर्घकालीन हित सुनिश्चित गर्न सक्रिय भूमिका खेल्नेछ।
समझदारी पत्रमा सिएनआईका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले समझदारी श्रमिक र उद्योग दुवैका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताए ।
उनले उद्योगीहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन सिएनआईले निरन्तर सहकार्य गर्ने उल्लेख गर्दै, “यो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउनेछ,” भने ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने आधार भएको उल्लेख गर्दै, यस समझदारीले श्रमिक तथा रोजगारदाताको सक्रिय सहभागिता बढाउन र दर्ता प्रक्रियालाई सबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
सिएनआईका उपाध्यक्ष भीम घिमिरेले सामाजिक सुरक्षा कोष मानव पूँजी विकासको मुख्य आधार भएको उल्लेख गर्दै, परिसंघले प्रदेशस्तरमा समेत यस्ता कार्यक्रमहरू बृहत रूपमा सञ्चालन गर्ने जानकारी दिए ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले श्रमिकका सुविधाहरू विस्तार गर्दै प्रणालीलाई अझ सुदृढ बनाउन यो सहकार्य महत्त्वपूर्ण भएको बताए ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका पूर्व सञ्चालक समिति सदस्य तथा सिएनआई रोजगारदाता परिषद्का सभापति धुव्र रिजाल, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगतबहादुर सिंखडा, सामाजिक सुरक्षा कोषका पदाधिकारीहरू, उद्योगी–व्यवसायी, रोजगारदाता परिषद्का सदस्यहरू लगायतको उपस्थिति थियो।

