राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘Business Meet 2082’ सम्पन्न
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चितवनको सौराहामा मंसिर १८ र १९ गते ‘Business Meet 2082’ सम्पन्न गरेको छ। देशभरका कर्जा तथा निक्षेप सङ्कलनमा उल्लेखनीय योगदान पुर्याउने ६७ शाखा कार्यालयहरूको सहभागितामा आयोजित समारोहमा बिजनेस मिट सम्पन्न गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्तमान बैंकिङ बजारका आवश्यकता, चुनौती तथा बैंकको रणनीतिक भूमिकाबारे विस्तृत अन्तरक्रिया भएको बैंकले जनाएको छ।
कार्यक्रममा सहभागी शाखाहरूले स्थानीय बजारको अवस्था, सम्भावित ग्राहकमाथि हुने अध्ययन तथा प्रचुर मात्रामा रहेको निक्षेपलाई गुणस्तरीय कर्जामा रूपान्तरण गर्ने योजना प्रस्तुत गरेका थिए।
अध्यक्ष ढकालले बैंकको व्यवसाय विस्तार रणनीतिलाई तीव्र बनाउँदै क्षेत्रगत सम्भावनामा आधारित व्यवसाय योजना तयार गर्न निर्देशन दिए।
साथै, सरकारी बैंकप्रतिको जनविश्वास अझ मजबुत बनाउने, सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए।
सञ्चालक समिति सदस्य हरि कुमार सिलवालले बैंकको मानव संसाधन युवा, सक्षम र ऊर्जावान रहेको उल्लेख गर्दै यस ऊर्जा र क्षमतालाई व्यवसाय वृद्धिमा रूपान्तरण गर्न शाखाहरूलाई आग्रह गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वर्तमान निक्षेप संरचनालाई अवसरका रूपमा उपयोग गर्दै गुणस्तरीय कर्जा विस्तार तथा सेवा प्रवाह सुधार सम्बन्धी निर्देशनात्मक भनाइ राखे।
उनले कर्जाको गुणस्तर उच्च राख्दै शाखा प्रबन्धकहरूलाई लक्ष्यअनुरूप कर्जा विस्तार, सेवाग्राहीप्रति सकारात्मक व्यवहार र गुनासा न्यूनिकरणमा विशेष ध्यान दिनुपर्ने बताए।
उनले शाखा, प्रदेश तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिममार्फत सक्षम बनाइने उल्लेख गर्दै बैंक गुणस्तरीय कर्जा विस्तारमा प्रतिबद्ध रहेको स्पष्ट पारे।
कार्यक्रममा उपकार्यकारी अधिकृत पवन रेग्मीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने औपचारिक कार्यक्रम सञ्चालन विभागीय प्रमुख आनन्द सुवेदीले गरेका थिए।
नायव प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले प्रस्तुत गरेका उक्त कार्यक्रममा उपकार्यकारी अधिकृतहरू विनय रमण पौडेल, दुर्गा कुमारी कडेल, राम कुमार थापा, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरू तथा शाखा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैंकले आगामी वर्षहरूमा अझ सुदृढ सेवा, पारदर्शी कर्जा प्रवाह र डिजिटल बैंकिङको विस्तारमार्फत गुणस्तरीय वित्तीय पहुँच अभिवृद्धिको लक्ष्य राखेको जनाएको छ।

