सोलु हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सोलु हाईड्रोपावर लिमिटेडले यही मंसिर ७ गतेदेखि आईपीओ निष्कासन खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १ करोड १० लाख कित्ता आईपीओ जारी गरेको हो ।
कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका २ करोड कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
सोमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ को स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानिय बासिन्दाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता बाँडफाँट गरिनेछ।
र बाँकी १० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ रकमबराबरकोे १ करोड कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि बिक्री गरिनेछ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गते हुनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन्।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.६८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२।०९ वर्ष रहेको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि शेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

