विद्युत खपत बढाउन माग पक्ष सुधार उच्च प्राथमिकतामा: मन्त्री कुलमान घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्रै खपत गर्न ‘माग पक्ष सुधार’लाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औँ वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले यस्तो बताएका हुन् । उनले विद्युत् खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गरे ।
‘अहिले मुख्य रूपमा देशभित्र खपत गरी वर्षायामको अतिरिक्त विद्युत् भारत तथा बंगलादेशतर्फ निर्यात गरिरहेका छौँ तर हाम्रो प्राथमिकता देशभित्रै खपत बढाउने हो,’ उनले भने, ‘यसका लागि चार्जिङ पूर्वाधारको विस्तार, खाना पकाउन प्रयोग भइरहेको काठदाउरा, ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन लगायतका काम गरी विद्युत् माग वृद्धि गर्न सकिन्छ ।’ ऊर्जा दक्षता, ऊर्जा, रूपान्तरण र विद्युत्को आन्तरिक माग बढाउन कार्ययोजनासहित काम अगाडि बढाएको पनि उनकाे भनाइ छ ।
वायु ऊर्जामा लगानी गर्न इच्छुक कम्पनीलाई सहयोग हुने गरी विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सौर्य ऊर्जालाई ग्रिडमा आवद्ध गर्ने र भण्डारण गर्ने सरकारको नीति रहेको बताए ।
वैकल्पिक ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा रूपान्तरणमा विभिन्न दातृ निकायले गरेको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री घिसिङले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्य क्षेत्र विस्तार गरिने बताए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले स्वच्छ ऊर्जा र दुर्गम क्षेत्रमा विद्युतीकरणमा केन्द्रको ठूलो योगदान रहेको उल्लेख गरे । नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले नेपालमा दिगो ऊर्जाको विकास, जीविकोपार्जन सुधार, न्यून कार्बन उत्सर्न ऊर्जा रूपान्तरणलगायतका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए । जर्मनीले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक तथा वित्तीय सहयोग गर्दै आएको छ ।
कार्यक्रमको अध्यक्षता गर्दै केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रको हालसम्मको समग्र उपलब्धी र हालको अवस्थाबारे उल्लेख गरे । कार्यकारी निर्देशक ढकालले केन्द्रले हालसम्म देशको समग्रमा करीब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्याएको बताए । कूल विद्युत् पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करीब ८.५ प्रतिशत रहेको र विद्युत पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि (क्लिन कुकिङ्ग) को क्षेत्रमा केन्द्रले विशेष जोड दिँदै आएको बताउँदै नवीकरणीय उनले ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनी क्रियाशील रहेको र जसबाट प्रत्यक्ष–अप्रत्यक्ष ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको उल्लेख गरे ।
दिगो ऊर्जा च्यालेञ्ज फण्ड अन्तर्गत भायबिलिटी ग्याप फण्डिङ्गको अवधारणमा गरिएको सहयोग निजी क्षेत्रको लगानी आकर्षिक गर्न प्रभावकारी रहेको उल्लेख गर्दै यसलाई थप विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी कार्यमा सहकार्य गर्दै आएका सम्पूर्ण सरोकारवाला निकायलाई धन्यावाद दिँदै कार्यकारी निर्देशक ढकालले यस क्षेत्रमा माग अनुसारको कार्यक्रम र पर्याप्त बजेटको लागि मन्त्रालयको मार्गदर्शन आवश्यक रहेको बताए ।
नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष कुशल गुरुङले नवीनतम प्रविधि र समावेशीकरण सहितको स्वच्छ ऊर्जा रूपान्तरणमा योगदान पुर्याउनु नै केन्द्रको विशेषता रहेको बताउँदै यस क्षेत्रमा विगतका असल अभ्यास एवं सिकाइहरुलाई संस्थागत गरेर जानुपर्ने बताए । उनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा कार्बन आम्दानीको उपयोग सम्बन्धी नीति नियमहरु यथासक्य चाँडो स्वीकृत गर्न अनुरोध गरे । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न सरकारले अनुकूल नीतिगत वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा केन्द्रका नायब कार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले विद्युत् पहुँच वृद्धिमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको भूमिकाको चर्चा गर्दै नवीकरणीय ऊर्जा कार्यान्वयनको ढाँचा विगतमा अनुदानमा आधारित रहेकोमा ऋण लगानीमा आधारित रही कार्यान्वयन हुने क्रम बढेको बताए । कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी संघ–संस्था, निजी क्षेत्र, प्राज्ञिक क्षेत्रका समेत गरी करीब ३०० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रका उप निर्देशक शुभलक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।
कार्यक्रममा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा ऊर्जा रूपान्तरणको क्षेत्रमा योगदान पुर्याएका तीन उत्कृष्ट संस्थालाई ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार, २०८२’ बाट पुरस्कृत गरिएको थियो ।
पुरस्कृत हुने संस्थाहरूमध्ये लघु तथा साना जलविद्युत्तर्फ गिरीखोला जलपादेवी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले जुम्ला जिल्लामा केन्द्रको सहयोगमा २०० किलोवाट क्षमताको गिरीखोला साना जलविद्युत निर्माण मार्फत २,१०० घरधुरीमा विद्युतीकरण गरी लाष्ट माइल इलेक्ट्रिफिकेसन र ऊर्जा सुरक्षामा सहयोग पुर्याए बापत उक्त पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी, सौर्य ऊर्जा तर्फ दिगो ऊर्जा च्यालेञ्ज फण्डको सहयोगमा नेपालमा पहिलो पटक ‘टु एक्सिस ट्र्याकिङ’ प्रणालीमा आधारित २८४ किलोवाट पिक क्षमताको ‘बाइफेसियल’ सौर्य फोटोभोल्टेक आयोजना विकास गरी कृषि सौर्य फोटोभेल्टाइक प्रविधि कार्यान्वयनमा योगदान पुर्याए बापत इको रिन्युएबल प्रालिलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी, जैविक ऊर्जा तर्फ काठमाडौँ उपत्यकामा रहेका विभिन्न दालमोठ तथा कार्पेट उद्योगहरुमा प्रयोग हुँदै आएको डिजेल र मोबिललाई स्वदेशमै उत्पादन गरिएको वातावरणमैत्री बायो पेलेटद्वारा प्रतिस्थापन गरी इन्धन रूपान्तरण (फ्युल स्विचिङ्ग) मा योगदान पुर्याए बापत स्मार्ट टेक एग्रो एण्ड बायो इनर्जी प्रालिलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी जनही ५० हजार रूपैयाँ रहेको छ ।
मञ्चुका समृति अक्षय कोषका संस्थापक एवं ग्रामीण प्रविधि केन्द्रका सञ्चालक लुमिनकुमार श्रेष्ठका दिवंगत छोरा सुप्रविध सुवास श्रेष्ठको स्मृतिमा वि.सं. २०७४ मा स्थापित यो पुरस्कार सोही वर्षदेखि हरेक वर्ष प्रदान गरिँदै आएको छ । पुरस्कृत संघ संस्थाहरूको छनोट अक्षय कोषको अनुरोधमा केन्द्रले गर्दै आएकोमा आगामी वर्षदेखि नेपाल नवीकरणीय ऊर्जा परिसंघले गर्ने अक्षय कोषका संस्थापक लुमिन कुमार श्रेष्ठले बताए ।
