शान्ति, स्थिरता र एकताको सन्देशसहित निजी क्षेत्रको साझा संकल्प

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (National Business Initiative- NBI) को आयोजनामा सम्पन्न “निजी क्षेत्रको ऐक्यबद्धताका लागि साझा संवाद” शीर्षकको भेलाले नेपालका प्रमुख निजी क्षेत्रीका छाता संस्थाहरू—नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), नेपाल उद्योग परिसंघ (CNI), नेपाल चेम्बर अफ कमर्स (NCC), होटल संघ नेपाल ( HAN), नेपाल निर्माण व्यवसायी महासंद्ध (FCAN), नेपाल घरेलु तथा साना उद्योग महासंघ (FNCSI), स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN) लगायत विभिन्न संघसंस्थाका उद्योगी व्यवसायी, युवा उद्यमी र विज्ञहरूको उपस्थिति बीच राष्ट्रिय महत्वका विषयमा साझा अवधारणा सार्वजनिक गरेको छ ।
अवधारणामा बदलिँदो राजनीतिक परिस्थितिबाट उत्पन्न चुनौतीको समाधानमा निजी क्षेत्रको भूमिका स्पष्ट पार्नु, राष्ट्रिय मुद्दामा एकीकृत धारणा निर्माण गर्नु, र सरकार, राजनीतिक दल तथा नागरिक समाजबीच संवाद पुलको रूपमा निजी क्षेत्रको जिम्मेवारीलाई सुदृढ पार्दै निम्न कार्यहरू गर्ने सहमति गरिएको छ।
कार्य १: NBI को समन्वयमा निजी क्षेत्रका अग्रणी संघसंस्थाका प्रमुखसहितको कार्यदल गठन गरी सरकार, Gen-Z, राजनीतिक दल लगायतका सरोकावालासँग संवाद गर्ने र व्यवसाय, सम्पत्ति सृजना र गरिबी अन्त्य सम्बन्धी धारणा सुधार गर्ने, अन्तर सरकारसँग स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग गर्ने; राज्यले व्यवसायको सुरक्षा सुनिश्चित गर्नेछ ।
कार्य २: सरकारी निकायहरूसँग बैठक गरी सफल निर्वाचन सुनिश्चित गर्ने, सुशासन प्रवर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुरक्षा निकायहरूको पूर्वाधार र मनोबल सुदृढ गर्न आवश्यक पहल गर्ने ।
कार्य ३ : निजी क्षेत्रको योगदान र नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभावका बारेमा तथ्य साझा गरी गलत धारणा सच्याउने र Gen Z सँग सहकार्यका लागि साझा भाष्य विकास गर्ने ।
कार्य ४: आन्तरिक र बाह्य सुधारका माध्यमबाट व्यक्तिगत व्यवसाय र समग्र व्यावसायिक वातावरण सुधार्ने, सुरक्षित र व्यवसायमैत्री नेपाल निर्माणका लागि पहल गर्ने ।
साझा अवधारणाले राष्ट्रिय सुरक्षा, स्थायित्व, पारदर्शिता र विश्वास पुनर्निर्माणलाई केन्द्रमा राख्दै स्वच्छ र निष्पक्ष निर्वाचनप्रि प्रतिबद्धता, भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धन, विश्वास पुनर्निर्माणका लागि आत्मसमीक्षा र पारदर्शिता, व्यवसायिक सुरक्षाको सुनिश्चितता र दिगो आर्थिक स्थायित्व, सहकार्य, संवाद र साझा जिम्मेवारीमार्फत राष्ट्र निर्माणमा योगदानका विषयहरूमा जोड दिएको छ । कार्यक्रममा प्रस्तुत अवधारणालाई मूर्त रूप दिनका लागि पहलको अग्रसरतामा FNCCI, CNI, NCC लगायतका प्रतिनिधि, युवा उद्यमी र विज्ञ सम्मिलित संयन्त्र गठन गरिने जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै NBI का अध्यक्ष कुशकुमार जोशीले आर्थिक विकाश र समृद्धिको संवाहकको रुपमा निजी क्षेत्रले आर्थिक विकाशमा पुऱ्याइरहेको योगदानलाई थप प्रभावकारी, जिम्मेवारीपूर्ण एवं उच्च मनोवलका साथ अगाडी बढाउन र व्यवसायिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि राष्ट्रिय व्यवसायिक पहलको अग्रसरतामा यस कार्यक्रमको आयोजना गरिएको बताउँदै प्रस्तुत अवधारणाको कार्यान्वयनले मुलुकको आर्थिक-सामाजिक विकाशमा नयाँ आयाम कोर्न सफल हुने बताए ।
FNCCI का कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले भ्रष्टाचार, कमजोर नेतृत्व र असमानताको समस्यालाई उजागर गरे । उनले निजी क्षेत्रबाट रोजगारी तथा कर राजस्वमा भएको योगदानको चर्चा गर्दै शान्ति, सुरक्षा र अनुकूल वातावरणको आवश्यकता औंल्याउनुभयो। CNI का अध्यक्ष बिरेन्द्र राज पाण्डेले व्यवसायीहरूमा देखिएको चिन्ता र असुरक्षा बारे उल्लेख गर्दै एकता, इमानदारी र सुशासनमार्फत सार्वजनिक विश्वास पुनःनिर्माणका लागि आह्वान गरे ।
NCC का उपाध्यक्ष दिपक श्रेष्ठले नियमित राजनीतिक आन्दोलनले अर्थतन्त्रमा पारेको असरबारे बोल्नुहुँदै, व्यवसायिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। त्यसैगरी प्रसिद्ध सञ्चारकर्मी भाष्कर राज राजकर्णिकारले निजी क्षेत्रले संयुक्त रूपमा मुख्य समस्या पहिचान गर्न नसकेको र क्षेत्रगत विषयमै सीमित भएको स्वीकार गरेका छन् ।
उनले सुरक्षाका लागि बलियो प्रतिबद्धता माग गर्न र सरोकारवालासँग प्रभावकारी संवाद गर्न सबै निजी क्षेत्र प्रतिनिधि समेट्ने संयुक्त कार्यदल निर्माण प्रस्ताव गरे । संवाद सत्रमा अन्य उद्योग संघहरूका शीर्ष नेतृत्वद्वारा रोजगार, युवा पलायन, विश्वसनीयता सुधार तथा नीति स्थिरताको आवश्यकता बारे विभिन्न सुझाव प्रस्तुत गरियो ।
समापन सत्रमा पहलका संस्थापक अध्यक्ष पद्म ज्योतीले सामाजिक सद्भाव, व्यवसायिक मनोबल र शान्तिपूर्ण समाधान आवश्यकता बारे जोड दिए । उनले निजी क्षेत्रलाई सहकार्य, शान्ति पुनःस्थापनामा योगदान र जिम्मेवार साझेदारको रूपमा अघि बढ्न आग्रह गरे ।
सफल समाज विना व्यवसाय सफल बन्न सक्दैन तथा सफल व्यवसाय विना समाज सफल बन्न सक्दैन भन्ने मान्यताका साथ स्थापित राष्ट्रिय व्यवसायिक पहल द्वन्द व्यवस्थापन, शान्ति स्थापना, दिगो विकाश एवं जिम्मेवार व्यवसाय संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा करीब दुई दशकदेखि निरन्तर क्रियाशिल रहेको छ ।