चालु खाता १ खर्ब ३० अर्ब र शोधनान्तर स्थिति साढे १ खर्ब रुपैयाँले बचतमा

काठमाडौं । चालु खाता १ खर्ब ३० अर्ब रुपैयाँ र शोधनान्तर स्थिति साढे १ खर्ब रुपैयाँले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को भदौसम्ममा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको हो ।
अघिल्लो वर्षको भदौमा चालु खाता ५४ अर्ब ४१ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।