६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९ को बिक्री सर्वसाधारणको लागि खुला
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा वार्षिक ६ प्रतिशत ब्याजदरमा ३ अर्ब बराबरको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ निष्कासन गरेकोमा यही असोज २९ गतेदेखि सर्वसाधारणका लागि उक्त डिबेन्चरको बिक्री खुला गरिएको छ ।
अंकित मूल्य एक हजार दरका कुल ३० लाख इकाई डिबेन्चर निष्कासन गरिएकोमा निष्कासित कुल इकाईमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाई (१.८० अर्ब बराबर) व्यक्तिगत तवर बाट बिक्रीका लागि छुट्याईएको र बाँकी रहेको ४० प्रतिशत अर्थात् १२ लाख इकाई (१.२० अर्ब बराबर) सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।
७ वर्ष अवधिको यस डिबेन्चरमा लगानीकर्ताहरूले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक १२ गतेसम्म लम्बिन सक्नेछ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम सम्पूर्ण इकाईका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यस डिबेन्चरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
२०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु तथा ३३८ एटिएम् टर्मिनल मार्फत ४९ लाख भन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।




