समृद्धि र पोखरा फाइनान्सबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच हुने मर्जर (एकीकरण) प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
केन्द्रीय बैंकले असोज २७ गते (सोमबार) पत्र पठाउँदै मर्जर प्रयोजनका लागि आवश्यक कार्य सम्पादन गर्न दुवै फाइनान्स कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएको हो। यसअघि दुवै कम्पनीबीच साउन ४ गते मर्जर सम्झौता भएको थियो ।
मर्जरपछि संस्थाको चुक्ता पूँजी, कर्जा लगानी, शाखा सञ्जाल र ग्राहक संख्यामा उल्लेख्य वृद्धि हुने र देशव्यापी गुणस्तरीय सेवा विस्तारमा सहयोग पुग्ने विश्वास दुवै कम्पनीले व्यक्त गरेका छन् ।
समृद्धि फाइनान्सको २३औं र पोखरा फाइनान्सको २७औं वार्षिक साधारणसभाले पनि मर्जर प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिसकेको छ ।
प्रारम्भिक समझदारीअनुसार, मर्जरका लागि दुवै कम्पनीबीचको शेयर स्वामित्व अनुपात १:१ रहने सहमति भएको छ । तर यदि डीडीए (Due Diligence Audit) प्रतिवेदनमा १० प्रतिशतभन्दा बढी फरक देखिएमा, संयुक्त मर्जर समितिले विस्तृत छलफल गरी अन्तिम शेयर स्वाप रेसियो निर्धारण गर्ने जनाएको छ ।
यस मर्जर प्रक्रिया सम्पन्न भएपछि दुवै फाइनान्सले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै ग्राहकहरूलाई अझ सशक्त र आधुनिक वित्तीय सुविधा उपलब्ध गराउने लक्ष्य लिएका छन् ।