सुरुमा १०२ अंक बढेको सेयर बजार २२ मा खुम्चियो

काठमाडौं । सुरुवाती कारोबारमा उचालिएको सेयर बजार अन्तिम समयमा भने खुम्चिएको छ । कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् ४ प्रतिशत बढ्यो । त्यतिबेला नेप्से २६७५ अंकमा थियो ।
त्यसपछि सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार नै स्थगित भयो । सर्किट ब्रेकपछि खुलेको बजार भने क्रमशः झर्न थाल्यो । बजार बन्द हुँदा अन्ततः नेप्से जम्मा २२.५९ अंक मात्रै बढ्यो । बन्द हुँदा नेप्से २५८२ अंकमा कायम भएको छ ।
दिनभर कुल ५ अर्ब २७ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । अघिल्लो दिन ५ अर्ब ७६ करोडको कारोबार भएको थियो । २ सय कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १० को स्थिर रह्यो ।
व्यापार बाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार १.४८ प्रतिशत घट्यो । बैंकिङ १.०७, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.९२, हाइड्रोपावर ०.९५, लगानी १.६१, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.९३ र अन्य ०.२३ प्रतिशत बढे ।
विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ५.५४, कर्पोरेट डेभलपमेन्६ बैंकको ४.१५ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशत घट्यो । भूगोल इनर्जीको ५.४३, आत्मनिर्भर लघुवित्तको ३.३७ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।