चौधरी ग्रुपले जेनजी आन्दोलनमा शहीद भएका परिवारका एक जनालाई रोजगारी दिने

काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ।
सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गर्दै भने, “यो केवल हाम्रो वाचामात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिने छौं, पुनर्निर्माण गर्ने छौं, आशा, सहानुभूति र सम्मान सहित देशको उज्ज्वल भविष्य निर्माण गर्ने छौं।”
रोजगारी प्रक्रियाका लागि सीजी टिमले सम्पूर्ण शहीद परिवारलाई सम्पर्क गरिरहेको छ। इच्छुक परिवारका सदस्यहरू कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सक्नेछन्।
जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रतर्फ चौधरी ग्रुपले पनि ठूलो क्षति भोगेको छ। समूहका अनुसार करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको छ। यसमा आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीले मुख्य भूमिका खेलेको छ।
काठमाडौं सतुङ्गलस्थित इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र उपकरण, व्यावसायिक मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू नष्ट भएका छन्। सिजी नेटको सर्भर र डाटा सेन्टरमा समेत क्षति पुगेको छ।
राजधानीका थापाथली, हरिसिद्धि, ललितपुर, विशालनगरका शोरुम र चितवन भरतपुरका व्यावसायिक भवनमा समेत लुटपाट, तोडफोड र आगजनी भएको छ। विद्यार्थी ओसारपसार गर्न प्रयोग हुने ६ वटा गाडीमा पनि आगो लगाइएको छ।
सीजी प्रबन्ध निर्देशक चौधरीले भने, “जेनजी आन्दोलनले हाम्रो निजी निवास, कार्यालय, शोरुम र कारखानामा पुर्याएको क्षति र विध्वंसले गहिरो पीडा दिएको छ। यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माण यात्रामा अगाडि बढेका छौं र परिवारप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छौं।”