भिभो वाई२१डीः सस्तो मोबाइल बजारमा नयाँ प्रतिस्पर्धा

काठमाडौं । नेपाली बजारमा भर्खरै सार्वजनिक भएको भिभो वाई२१डीले अब सस्तो मोबाइल बजारमा नयाँ प्रतिस्पर्धा ल्याएको छ। मूल्यदेखि डिजाइन, ब्याट्री र क्यामेरासम्म यसले सामसुङ र सिओमीका फोनसँग कस्तो टक्कर दिएको छ ?
नयाँ भिभो वाई२१डीः डिजाइन र मूल्यमा सन्तुलन
भिभोले अक्टोबर २०२५ मा नेपाली बजारका लागि नयाँ मोडेल वाई२१डी सार्वजनिक गरेको हो। करिब २१ हजार ४९९ रुपैयाँ मूल्यमा उपलब्ध यो फोन बजेट सेग्मेन्टका प्रयोगकर्ताका लागि बनाइएको छ।
यसमा ६.६८ इन्चको ठूलो स्क्रिन, एचडी प्लस रिजोल्युसन र ९० हर्जको रिफ्रेस रेट सुविधा छ। ६ हजार ५०० मिलिअयाम्पियर ब्याट्री र पानी तथा धुलो प्रतिरोध गर्ने आईपी ६८÷६९ प्रमाणपत्र पनि दिइएको छ। जुन यो मूल्यमा निकै दुर्लभ सुविधा हो।
फोनको डिजाइन पातलो र आकर्षक छ। पछाडिको भाग चारैतिर हल्का घुमाइएको (कर्भ) छ। जसले समात्न सहज बनाउँछ। यो फोन कोरल रातो र जेड हरियो दुई रङमा उपलब्ध छ। तौल करिब २०९ ग्राम छ र गोरिल्ला ग्लासको सुरक्षा पनि दिइएको छ।
भित्रको हार्डवेयरमा युनिसोक टी–७२२५ चिपसेट, ६ जीबी र्याम र १२८ जीबी भण्डारण क्षमता छ। सफ्टवेयरमा एन्ड्रोइड १५ आधारित फनटच ओएस १५ राखिएको छ।
क्यामेरातर्फ ५० मेगापिक्सेलको मुख्य क्यामेरा र सहायक डेप्थ सेन्सर दिइएको छ। अगाडिको ५ मेगापिक्सेल क्यामेरा सामान्य सेल्फी र भिडियो कलका लागि ठीकठाक देखिन्छ।
सामसुङ ग्यालेक्सी ए१४सँग तुलना
सामसुङको ग्यालेक्सी ए१४ हाल नेपाली बजारमा करिब २३ हजार रुपैयाँभन्दा माथिको मूल्यमा उपलब्ध छ। यो फोनमा ६.६ इन्चको फुल एचडी प्लस स्क्रिन र १३ मेगापिक्सेलको अगाडिको क्यामेरा दिइएको छ।
भिभो वाई२१डीसँग तुलना गर्दा सामसुङले राम्रो रिजोल्युसनको पर्दा र सेल्फी क्यामेरा दिएको छ। तर, भिभोले ठूलो ब्याट्री, छिटो चार्ज हुने सुविधा र पानी प्रतिरोधी संरचना दिएर आफूलाई फरक बनाएको छ। लामो ब्याट्री ब्याकअप र मजबुत डिजाइन चाहने प्रयोगकर्तालाई भने भिभो वाई२१डी बढी उपयुक्त छ। तर, स्क्रिनको गुणस्तर र सेल्फीलाई प्राथमिकता दिने प्रयोगकर्ताका लागि सामसुङ ए१४ राम्रो विकल्प हुन सक्छ।
शाओमी रेडमी १२सँग तुलना
शाओमीको रेडमी १२ अझ सस्तो दरमा करिब १८ देखि २० हजार रुपैयाँमा उपलब्ध छ। यसमा फुल एचडी प्लस स्र्किन, राम्रो प्रोसेसर र ८ मेगापिक्सेलको अगाडिको क्यामेरा छ।
भिभो वाई२१डीको मुख्य बल भनेको ठूलो ब्याट्री र पानी प्रतिरोध हो। लामो यात्रामा वा बाहिरी काममा फोन चलाउने प्रयोगकर्ताका लागि यो विशेषता उपयोगी हुन सक्छ। तर, गेम खेल्ने वा बढी प्रदर्शन चाहने प्रयोगकर्ताका लागि रेडमी १२ अझ उपयुक्त देखिन्छ।
भिभो वाई२१डीका मुख्य बलियो पक्ष
भिभो वाई२१डीको सबैभन्दा ठूलो आकर्षण यसको ब्याट्री हो। ६ हजार ५ सय मिलियम्पियर क्षमतासँग ४४ वाटको छिटो चार्ज सुविधा दिइएको छ।
त्यसैगरी, पानी र धुलो प्रतिरोध गर्ने आईपी ६८÷६९ प्रमाणपत्रले फोनलाई थप टिकाउ बनाएको छ। नयाँ एन्ड्रोइड १५ सफ्टवेयर भएकोले यो फोन लामो समय अद्यावधिक भइरहने अपेक्षा गर्न सकिन्छ। ५० मेगापिक्सेलको मुख्य क्यामेराले उज्यालो प्रकाशमा राम्रो फोटो खिच्छ।
कमजोरी
भिभो वाई२१डीको पर्दा अझै एचडी प्लस रिजोल्युसनमा सीमित छ। जब कि प्रतिस्पर्धी फोनहरुले फुल एचडी सुविधा दिइसकेका छन्। युनिसोक प्रोसेसर सामान्य कामका लागि ठीक भए पनि गेमिङका लागि पर्याप्त शक्तिशाली छैन। अगाडिको क्यामेरा मात्र ५ मेगापिक्सेल भएकाले सेल्फीप्रेमी प्रयोगकर्ताका लागि यो कमजोरी हुन सक्छ। फनटच ओएसमा केही अनावश्यक एपहरू अझै पनि रहने समस्या देखिन्छ।
कस्ता प्रयोगकर्ताका लागि उपयुक्त ?
यदि तपाइँ लामो ब्याट्री ब्याकअप, पानी प्रतिरोध र दैनिक प्रयोगका लागि भरपर्दो फोन खोज्दै हुनुहुन्छ भने भिभो वाई२१डी एक उत्कृष्ट विकल्प हो। तर, यदि तपाइँ उच्च रिजोल्युसनको स्क्रिन, शक्तिशाली प्रोसेसर वा राम्रो सेल्फी अनुभव चाहनुहुन्छ भने सामसुङ ग्यालेक्सी ए१४ वा शाओमी रेडमी १२ रोज्न सक्नुहुन्छ।
नेपालको सस्तो मोबाइल बजारमा भिभो वाई२१डीले अब दृढता र ब्याट्री आयुसँग नयाँ मानक स्थापित गरेको देखिन्छ।