नेक प्रादेशिक छात्रवृत्ति र कम्युनिटी स्किमको परीक्षा सम्पन्न

काठमाडौं । भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)को प्रादेशिक छात्रवृत्ति तथा कम्युनिटी स्किम परीक्षामा करिब एक सय विद्यार्थीले सहभागीता जनाएका छन् । आइतबार कलेजमा लिइएको प्रादेशिक छात्रवृत्ति र कम्युनिटी स्किम परीक्षामा एक सय विद्यार्थीले सहभागीता जनाएको कलेजका मिडिया रिलेसन अफिसर आशिष झाले जानकारी दिनुभयो ।
कलेजले इन्जिनियरिङ शिक्षामा सातै प्रदेशबाट विद्यार्थीहरुको पहुँच स्थापित गर्ने र सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई प्रोत्साहन दिने उद्देश्यले प्रादेशिक छात्रवृत्ति र कम्युनिटी स्किम दिएको हो । प्रादेशिक छात्रवृत्ति अन्तरगत सात वटा प्रदेशबाट उत्कृष्ट सात जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति प्रदान गरिने र कम्युनिटी स्किम अन्तरगत सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म विज्ञान विषय लिएर अध्ययन गरेका तथा सिटिइभिटीको डिप्लोमा ओभरसियर गरेकाहरुले स्नातक अध्ययनका लागि छुटमा अध्ययन गर्न पाउनेछन् । ‘इन्जिनियरिङ शिक्षामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको पहुँच बढोस् र सातै प्रदेशबाट विद्यार्थीहरुको सहभागीता होस् भनेर हामीले यी छात्रवृत्तिहरु दिएका हौं ।’ मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकैले हामीले हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्तिहरु वितरण गरिरहेका छौं ।’ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले बताउनु भयो ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङ विधामा स्नातक तह तथा स्नातकोत्तर तहसम्मको अध्यापन हुने गरेको छ । शहरी भिडभाड र कोलाहल देखि टाढा शान्त तथा हरियाली वातावरणमा अवस्थित यस कलेजले प्रयोगात्मक शिक्षण विधि देखि पूर्णकालिन शिक्षक शिक्षिकाको समेत व्यवस्था गरेकोले देशका ७७ वटै जिल्लाहरुबाट विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् ।
कलेजमा स्नातक तहमा आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, कम्प्युटर, इन्फरमेशन एण्ड कम्युनिकेशन, इलेक्ट्रिकल एण्ड इलेक्टोनिक्स तथा सिभिल फर डिप्लोमा होल्डर्स विषयमा अध्यापन हुने गरेको छ । स्नातकोत्तर तहमा कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरडिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयको अध्यापन हुने गरेको छ ।