पर्यटन प्रवर्धनको सपना टुटेको छैन भन्दै चन्द्रागिरि केबलकारको पुनः उठ्ने प्रतिबद्धता

काठमाडौं । भदौ २३ देखि जारी जेन-जी प्रदर्शनका क्रममा पर्यटकीय स्थान चन्द्रागिरीमा पनि ठूलो क्षति भएको छ । आन्दोलनकारीहरुले तोडफोड र आगजनीले केबलकार स्टेशनमा ठूलो क्षति पुर्याएको हो ।
गुणस्तरीय सेवामार्फत् नेपालको पर्यटन प्रवर्द्धनमा आफू विचलित नहुने कम्पनीले जनाएको छ । चन्द्रागिरि केबलकार पब्लिक लिमिटेडको रूपमा लाखौँ नेपाली शेयरधनीहरूको लगानीमा सञ्चालन भइरहेको संस्था हो। नेपाल पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा यसले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै आन्दोलनमा उठाइएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी र समग्र आर्थिक समृद्धिका मुद्दाप्रति आफूहरूको सम्मान रहेको तर आन्दोलनका क्रममा भएका अवाञ्छनीय घटनाले ठूलो नोक्सानी भएको जनाएको छ।
क्षति भए पनि कम्पनीले छिट्टै सेवा पुनः सुरु गर्ने प्रतिवद्धता जनाएको छ।
‘यहाँहरूको साथ र सद्भावले हाम्रो सपना अझै मजबुत बनेको छ, हामी पुनः उठ्ने छौँ,’ कम्पनीले भनेको छ।
पर्यटक र दर्शनार्थीलाई परेको असुविधाप्रति क्षमा माग्दै सुरक्षात्मक वातावरण कायम गर्न माग गरेको छ।
विभिन्न ठाउँमा भएका दुःखद घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति चन्द्रागिरि केबलकारले गहिरो दुःख प्रकट गर्दै कम्पनीले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गरेको छ।